काठमाडौं– मंगलबार निधन भएका संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज (बिहीबार) अन्त्येष्टि गरिँदैछ। नेम्वाङको पार्थीव शरीर अहिले पशुपचित आर्यघाट पुर्याइएको छ।
अन्तिम संस्कार अगाडि नेम्वाङको निजी निवास बालुवाटारबाट शवयात्रा सुरु भएको थियो।
घरमा अचेत अवस्थामा फेला परेका भनिएको नेम्वाङलाई मंगलबार बिहान १:५० त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउने बेला नेम्वाङ जीवित रहेको कुनै संकेत नदिएको चिकित्सकले बताएका छन्।
सीपीआर गरेर मुटुको घड्कन फिर्ता ल्याउने प्रयास गरिए पनि सफल नभएपछि चिकित्सकले नेम्वाङलाई मृत घोषित गरेका थिए। नेम्वाङको शव मंगलबार र बुधबार दिउँसोसम्म नेकपा एमाले पार्टी मुख्यालय च्यासलमा राखिएको थियो।
च्यासलमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न दलका नेताहरु, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्ति, उच्चपदस्थ अधिकारी, पार्टीका नेता तथा कार्यकर्ता र सुभेच्छुकले नेम्वाङको पार्थीव शरीरमा श्रद्धाञ्जली अर्पण गरेका थिए।
बुधबार दिउँसो नेम्वाङको पार्थीव शरीर बालुवाटार ल्याइएको थियो। बालुवाटारबाट नै बिहीबार बिहान शवयात्रा सुरु भएको हो।
नेम्वाङको अन्तिम संस्कार हुने दिन बिहीबार सरकारले देशभर शोक बिदा दिएको छ। नेम्वाङको निधनको शोकमा बिहीबार देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाल दूताबास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।