एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले गतवर्ष आर्थिक उत्पादनको अनुपातमा गिरावट आए पनि विश्वव्यापी ऋणको भार महामारीअघिको भन्दा निकै माथि रहेको जनाएको छ।
आइएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक र निजी दुवै ऋणसहित कुल ऋण गत वर्ष विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २३८ प्रतिशत रहेको छ, जुन सन् २०१९ को तुलनामा नौ प्रतिशत बढी हो।’
आईएमएफले उच्च सार्वजनिक ऋण हुनुलाई विश्वव्यापी विकासमा देखिएको सुस्ततालाई जिम्मेवार ठहर्याएको छ। जुन निजी ऋणको तुलनामा सुस्त दरमा घटिरहेको छ।
आईएमएफले भनेको छ, ‘वित्तीय घाटाले सार्वजनिक ऋणको स्तरलाई उच्च राखेको छ, किनकि धेरै सरकारहरूले वृद्धिलाई बढावा दिन र महामारीसँग सम्बन्धित वित्तीय समर्थन समाप्त भए पनि खाद्य र ऊर्जाको मूल्य वृद्धि रोक्न बढी खर्च गरेका छन्।’
यसले सरकारहरूलाई निजी ऋणको ‘सतर्क निगरानी’ र सार्वजनिक ऋण स्थिरता व्यवस्थापन गर्न ‘विश्वसनीय’ वित्तीय ढाँचाहरू सिर्जना गरेर ऋणको कमजोरी कम गर्न ‘तत्काल कदम’ चाल्न आह्वान गरेको छ।
महामारीको समयमा ऋणको स्तर बढे पनि सार्वजनिक र निजी क्षेत्र दशकौंदेखि बढ्दै गएका छन्। आईएमएफका अनुसार यो वृद्धिको ठूलो हिस्साका लागि चीन जिम्मेवार छ, हालका वर्षहरूमा कुल गार्हस्थ उत्पादन प्रतिशतको रूपमा उसको ऋण तीव्र रूपमा बढेको छ र संयुक्त राज्य अमेरिकाको समान स्तरमा पुगेको छ।
न्यून आय भएका देशहरूमा ऋण पनि बढ्दै गएको छ, जसले ‘चुनौती र कमजोरी’ हरू सिर्जना गरेको छ। यसमा कम आय भएका विकासशील देशहरूको आधाभन्दा बढीमा ऋण सङ्कटको उच्च जोखिम पनि समावेश छ।
आईएमएफले भनेको छ, ‘ऋणको बोझ कम गर्नाले वित्तीय रिक्तता सिर्जना हुनेछ र नयाँ लगानीलाई अनुमति दिनेछ। यसले आगामी वर्षहरूमा आर्थिक वृद्धिलाई बढावा दिन मद्दत गर्नेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।