काठमाडौं– चाडपर्वमा चिनीको अभाव हुन नदिन सरकारले दुई निकायलाई २० हजार टन चिनी आयात गर्न अनुमति दिएको छ। अर्थ मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १०/१० हजार टन चिनी आयात अनुमति प्रदान गरेको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ६० हजार टन चिनी आयात गर्न दिन भनेर सहमति माग भएको थियो। सरकारले २० हजार टन ल्याउन अनुमति दिइएको अर्थमन्त्रालयका प्रवक्ता धनीराम शर्माले जानकारी दिए।
‘चिनी आयात गर्दा ३० प्रतिशत भन्सार शुल्क लाग्छ। मन्त्रालयले २० हजार टन चिनी आयात गर्न दुई कम्पनीलाई ५० प्रतिशत भन्सार शुल्क छुट दिने निर्णय गरेको छ,’ शर्माले भने, ‘अब १५ प्रतिशत भन्सार महसुल छुटमा चिनी ल्याउन पाउनेछन्।’
साल्ट र खाद्य व्यापारले ३ वर्षदेखि चिनी आयात गर्न सरकारबाट अनुमति पाएका थिएनन्। यसले गर्दा ३ वर्षदेखि साल्ट ट्रेडिङले आम उपभोक्तालाई खुद्रा मूल्यमा १ देखि २ किलोका दरले चिनी बिक्री गर्दै आएको थियो भने खाद्य व्यवस्थाले ३ वर्षदेखि चिनी बिक्री गर्न नै पाएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।