काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०६२/६३ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइरालाले जनआन्दोलनको जोश र सामञ्जस्यकारी होस भएको व्यक्ति खोज्दा सुवास नेम्वाङ सभामुख भएको बताएका छन्।
‘२०६२/६३ को आन्दोलनको लगत्तै पछाडि आन्दोलनको सर्वोच्च कमाण्डर गिरिजाप्रसाद कोइरालालाई एउटा यस्तो पात्र सभामुखको रुपमा चाहिएको थियो। जोसँग आन्दोलनको त्यो जोश पनि होस्। त्यस सँगसँगै सीमित स्रोत साधन र असीमित आकांक्षाका बीचमा, दलगत भिन्नभिन्न आकांक्षाका बीचमा सामञ्जस्य कायम गर्न सक्ने होस पनि होस्। त्यस्तो एउटा पात्रको खोजी थियो। गिरिजाप्रसादले त्यसका लागि सबैभन्दा उपयुक्त पात्रका रुपमा सुवास नेम्वाङलाई ठहराउनुभयो। जुन पछि प्रमाणित पनि भयो’, उनले भने।
बुधबार पोखरामा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै थापाले दोस्रो संविधान सभाबाट संविधान जारी हुनुमा नेम्वाङको दृढता प्रमुख कारण रहेको बताए।
‘संविधान घोषणा गर्ने क्षणमा एउटा खालको द्विविधा र अलमलको स्थिति बनेको थियो। र दबाबको स्थिति पनि थियो। अहिले संविधान घोषणा नगर, संविधान घोषणा गर्ने कुरालाई पछाडि सार। खासगरी बाह्य दबाबका कुरा थिए। संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निर्णायक भूमिका रह्यो। संविधानमा केही समस्या, कमजोरी र केही सच्याउनुपर्ने कुरा छन् भने भविष्यमा सच्याउँला। तर सुशील कोइरालाको नेतृत्वमा रहेको राजनीतिले जसरी पनि संविधान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यसलाई टुंगोमा पुर्याहउनका लागि संविधान सभा अध्यक्षको हैसियतमा दह्रोसँग अडिन्छु भन्ने सुवास नेम्वाङको दृढता थियो। त्यसैले हामीले संविधान निर्माणमा सफलता प्राप्त गर्न सक्यौं’, उनले भने।
नेम्वाङ दुवै संविधान सभाका अध्यक्ष थिए। नेम्वाङको मंगलबार बिहान निधन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।