काठमाडौं- ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ। सीआईबीले हाल यो प्रकरणमा ३२ जना पक्राउ गरेको छ, जसमा २३ जना नेपाली र ९ जना विदेशी रहेका छन्।
सीआईबीले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी दिएको हो। पक्राउ परेका ३२ जनासहित जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउने सीआईबीकी प्रमुख किरण बज्राचार्यले बताइन्।
त्यस्तै अनुसन्धान प्रतिवेदनमा १८ जना प्रतिवादी फरार रहेको जसमा १४ विदेशी र ४ नेपाली रहेको बज्राचार्यले बताइन्। उनले राजश्व अनुसन्धान विभागबाट फाइल प्राप्त भएपछि सुरुमा संगठित अपराधमा अनुसन्धान सुरु गरेको भन्दै अनुसन्धान प्रतिवेदन बुझाउँदासम्म अन्य धेरै कानुनहरु पनि आकर्षित हुने देखिएको बताइन्। सीआईबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बिगो माग गर्नुपर्ने राय दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।