काठमाडौं- ६० किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले करिब ३ अर्ब ५० करोड २ लाख १६ हजार ५ सय ५२ रुपैयाँ बिगो माग गर्नुपर्ने राय दिएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउन तयार भएको अनुसन्धान प्रतिवेदनमा यति बराबरको सुन तस्करी भएको भन्दै बिगो यकिन गरेको सीआईबीकी प्रमुख किरण बज्राचार्यले बताइन्।
पत्रकार सम्मेलनमार्फत सीआईबी प्रमुख बज्राचार्यले यो प्रकरणमा २३ जना नेपाली र ९ जना विदेशी पक्राउ गरेर अभियोगपत्रसँगै पेस गरिने बताइन्। त्यस्तै अनुसन्धान प्रतिवेदनमा १८ जना प्रतिवादी फरार रहेको जसमा १४ विदेशी र ४ नेपाली रहेको उनले बताइन्। उनले सुन तस्करी प्रकरणमा अहिले भएको अनुसन्धान पूर्ण नभएको भन्दै पुरक अनुसन्धान हुने पनि बताइन्।
अनुसन्धानको क्रममा पाँच जना विदेशीको हकमा यो बाहेक अन्य मुद्दा पनि लाग्ने देखिएको बताइन्। उनले सुन तस्करी प्रकरणमा अन्तर्राष्ट्रिय संलग्नता देखिएको भन्दै यसलाई उच्च प्रविधिको प्रयोग गरेर अनुसन्धान गर्नुपर्ने चुनौती देखिएको उल्लेख गरिन्।
अनुसन्धानको क्रममा भाषाको पनि समस्या देखिएको बताउँदै बज्राचार्यले चीनियाँ भाषा नबुझेकाले केही समस्या आएको जानकारी दिइन्। सुन तस्करी प्रकरणमा ताइबान, हङ्गकङ्ग, मकाउ र भारतीय नागरिकको संलग्नता देखिएको उनले बताइन्। यो अपराध एकदमै व्यावसायिक र व्यवस्थित रुपमा भएको र डिजिटल पेमेन्ट, चेनब्रेकदेखि धेरै कुरा भएको पाइएको उनले पत्रकार सम्मेलनमा जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।