काठमाडौं- संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा राखिने भएको छ।
बुधबार दिउँसो १ बजेपछि नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिने नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ। नेम्वाङप्रति श्रद्धाञ्जली अर्पणका लागि मंगलबार बिहानदेखि उनको पार्थिव शरीर पार्टीको केन्द्रीय कार्यालयमा राखिएको छ।
श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थिव शरीर बुधबार दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय, च्यासलमा राखिने र त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि बालुवाटारस्थित निवासमा राखिने एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले बताए।
नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी उनले दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।