काठमाडौं- पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंगलबार निधन भएका संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीको रुपमा चित्रण गरेका छन्। नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि एमाले मुख्यालय च्यासल पुगेका उनले संविधान निर्माणमा मात्रै नभई सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको माध्यामबाट मुलुकमा राजनीतिक परिवर्तनको हरेक मोडमा नेतृत्वदायी भूमिका निर्वाह नेम्वाङले गरेको समेत बताए।
नेम्वाङ नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको महानहस्ती भएको उनको भनाइ थियो। कुनै पनि समस्यालाई समाधान गर्ने कुरामा नेम्वाङ सधैंभरि लागि रहेको उल्लेख गर्दै नेपालले नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र परिवर्तनले आन्दोलनले अपूरणीय क्षति व्यहोर्नुपरेको बताए।
उनले भने-
सुवासचन्द्र नेम्वाङ नेपालको परिवर्तनको आन्दोलनको एउटा महान हस्ती हुनुहुन्थ्यो। उहाँले नेपालको राजनीतिक परिवर्तनको प्रत्येक मोडहरुमा बडो कुशलताका साथ नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो। मुलुकमा गणतन्त्रको स्थापना भइसकेपछि संविधान निर्माण गर्नुपर्ने अभिभारा हाम्रो काँधमा आइसकेपछि त्यसलाई उहाँले बडो कुशलताका साथ निर्वाह गर्नुभयो। र, उहाँले सबैलाई मिलाएर लिएर जान सक्ने मिलनसारिताको उहाँको छुट्टै व्यक्तित्व थियो।
उहाँ शालिन व्यक्तिको धनी हुनुहुन्थ्यो। उहाँ समस्याहरु बल्झाउन होइन, समाधान गर्न सधैभरी लागिरहनु हुन्थ्यो। एकातर्फ उहाँको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका छ भने अर्कोतर्फ कम्युनिष्ट आन्दोलनमा पनि उहाँको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ। सुरुदेखि नै उहाँ प्रगतिशील आन्दोलनमा, बामपन्थी आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो। र, त्यही ध्येय र उद्देश्यका लागि उहाँले आफ्नो सम्पूर्ण जीवन यसैमा समर्पित गर्नुभयो। उहाँ यस्तो व्यक्तित्व हुनुहुन्थ्यो, जसले सबै अप्ठ्याराहरु, जटिलताहरुलाई कुशलताका साथ पार लगाउने कुरामा अगुवाइ गर्नु भयो।
उहाँको योगदानलाई इतिहासले सधैभरी स्मरण गरिरहनेछ। नयाँ पुस्ताले उहाँबाट प्रेरणा प्राप्त गर्दै अघि बढ्नेछ। उहाँ सादा जीवनको पनि पक्षपाति, स्वच्छ छविको पनि पक्षपाति, मुलुकमा सुशासन स्थापना होस् भन्ने चाहनाको पनि पक्षपाती। त्यसो हुनाले संविधान निर्माण गर्ने मात्रै होइन, त्यसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ? कार्यान्वयन गर्ने कुरामा पनि उहाँको अत्यन्त धेरै हुटहुटी र जोड गर्ने गरेको पाइन्छ। अहिले देशमा जस्तो किसिमको राजनीतिक वातावरण बदलिनु पर्दछ।
हाम्रा सहमति र समझदारीको वातारण निर्माण गर्नुपर्दछ भन्ने कुराको उहाँ हिमायती पनि हुनुहुन्थ्यो। त्यसो हुनाले उहाँको निधन सिंगो लोकतान्त्रिक आन्दोलनको निम्ति, कम्युनिष्ट आन्दोलनको निम्ति परिवर्तनको आन्दोलनको निम्ति ठूलो क्षति हो। म उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। र, परिवारजनप्रति गहिरो समवेदना। उहाँका सपनाहरुलाई पूरा गर्नका लागि मैले आफ्नो तर्फबाट, हाम्रो पार्टीले आफ्नो तर्फबाट अधिकतम प्रयत्ने गर्नेछु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।