काठमाडौं– सुवास नेम्वाङ राजनीतिका जति सौम्य खेलाडी थिए, फुटबलका उति नै मृदुल दर्शक पनि। फुटबल हेर्ने आदतबारे उनले आफ्ना अन्तर्वार्ता र प्रतिक्रियामा बताएका छन्। अर्जेन्टिनी खेलाडी लियोनल मेसीलाई उनी औधी रुचाउँथे।
नेपाल लाइभसँगको एक कुराकानीमा उनले आफ्नो फुटबल प्रेम र आकलनबारे बताएका थिए। २०१८ को विश्वकप फुटबल प्रतियोगिताअघि उनले नेपाल लाइभसँग कुरा गर्दै सो विश्वकप अर्जेन्टिनाले जितोस् भन्ने चाहेको बताएका थिए। तर त्यतिबेला फ्रान्सले जित्यो। नेम्वाङको रहर भने २०२२ को विश्वकपमा मात्रै पूरा भयो।
प्रविधिको विकाससँगै जब अन्य देशमा भएका फुटबल प्रतियोगिताहरू हेर्न सकिने भयो, सुरुवातमा उनी ब्राजिलका फ्यान थिए। ‘पहिले मलाई ब्राजिल मनपर्थ्यो। रोनाल्डो, रोनाल्डिन्हो लगायतका खेलाडीहरू हुँदाका बेला म ब्राजिलको फ्यान थिएँ। पछिल्लो समयका विश्वकपमा पनि मेरो दोस्रो रोजाइ ब्राजिल नै हो। तेस्रो भने स्पेन,’ उनले भनेका थिए।
मेसीको उदय भएपछि आफू अर्जेन्टिनाको फ्यान भएको नेम्वाङको भनाइ थियो। ‘उनको उदयपछि नै अर्जेन्टिनाप्रति मेरो रुचि बढ्यो। बार्सिलोनामार्फत् उनको खेल कौशल मलाई खुबै मन परेको हो’, उनले भनेका थिए।
मेस्सी मन पर्नुमा केही कारण पनि उनले प्रस्तुत गरेका थिए। भनेका थिए, ‘उनी पूर्ण खेलाडी छन्। उनको ड्रिबलिङ राम्रो छ। पास राम्रो गर्छन्। गोल राम्रोसँग गर्छन्। उनको खेल निकै स्वाभाविक लाग्छ। उनले जोर गरिकन खेल खेलिरहेका छन् भन्ने नै लाग्दैन। त्यसैले त मानिसहरू भन्छन्– मेसीले खेलेको हेर्दा फुटबल खेल्न साह्रै सहज रहेछ कि जस्तो लाग्छ!’
मेसीका फ्यान उनी विद्यार्थी कालदेखि नै फुटबलमा चासो राख्थे। ‘इलाममा फुटबल पनि खेलेँ। आफ्नो टोल वा क्याम्पस टिमको त क्याप्टेन नै थिएँ। त्यतिबेला म फरवार्ड पोजिसनमा खेल्थेँ,’ उनले भनेका थिए।
बीए पास गरेर काठमाडौं आएपछि भने उनको खेल्ने काम बन्द भयो। ‘तर फुटबल म्याचहरू हेर्ने तथा यसबारे जानकारी राख्ने क्रम भने कम भएन। खेल्न नपाए पनि चाख भने बढ्दै गयो। यहाँ हुने फुटबल प्रतियोगिताहरू म हेरिरहन्थेँ। सम्भव भएसम्म कुनै छुटाउँदैन थिएँ,’ उनले भनेका थिए।
यहाँ खेल्न आउने विदेशी टिमहरूप्रति पनि आफ्नो रुचि भएको उनको भनाइ थियो। ‘म उनीहरूको खेल ध्यानपूर्वक हेर्थेँ,’ उनले भनेका थिए, ‘यसबीचमा भुटानका टिमका खेल हेरेँ। सिक्किम तथा भारतका मोहनबगान लगायत टिमका खेलहरू हेरेँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।