काठमाडौं– ‘हृदयघाटबाट निधन’ भएका संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको शव एमालेको पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिएको छ।
मंगलबार बिहान करिब १:३० बजेतिर काठमाडौंको बालुवाटारस्थित निजी निवासमा अचेत अवस्थामा भेटिएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। अस्पतालको आकस्मिक कक्षमा पुर्याउँदा ‘जीवित रहेको कुनै संकेत’ नदेखिए पनि चिकित्सकहरुले मुटुको धड्कन फर्काउने अपेक्षासहित सीपीआर गरेका थिए। सीपीआरबाट मुटुको घड्कन फर्काउने प्रयास असफल भएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
अस्पतालबाट निकालेर केही समय अगाडि नेम्वाङको पार्थीव शरीर एमाले पार्टी कार्यालय च्यासल पुर्याइएको थियो। नेम्वाङको शव बुधबार दिउँसोसम्म च्यासलमा रहने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन्।
नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन नेतादेखि विभिन्न क्षेत्रका व्यक्तिहरु च्यासल पुगेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङको शवमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरे।
यस्तै, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिन्। नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेताहरुले पनि नेम्वाङको शवमा श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नेम्वाङका २ छोराहरु विदेशमा रहेको र उनीहरु स्वदेश फर्किन लागेकाले उनीहरु आएपछि मात्रै अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ। एमाले उपमहासचिव ज्ञवालीले सम्भवत: बिहीबार मात्रै अन्तिम संस्कार गरिने जानकारी दिएका छन्।
सरकारले राष्ट्रिय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको छ। साथै नेम्वाङको अन्तिम संस्कारको दिन देशभर शोक बिदा दिने निर्णय समेत सरकारले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।