काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नेकपा एमालेको पार्टी कार्यालय ललितपुरको च्यासल पुगेर देउवाले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
नेम्वाङको शव अन्तिम श्रद्धाञ्जलीका लागि एमाले मुख्यालय च्यासलमा राखिएको छ।
प्रतिनिधि सभाका सदस्य एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ काठमाडौंको बालुवाटारस्थित आफ्नो निवासमा अचेत अवस्थामा फेला परेपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। मंगलबार बिहान १:५० अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।
अस्पतालका १ जना चिकित्सकका अनुसार शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्याइँदा नेम्वाङ जीवित रहेको कुनै संकेत थिएन। यद्यपि मुटुको धड्कन फर्काउने प्रयासस्वरुप सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरिएको थियो। मुटुको चाल फर्काउने प्रयास असफल भएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु मंगलबार बिहानै अस्पताल पुगेका थिए।
नेम्वाङको शव बुधबार दिउँसोसम्म एमाले मुख्यालय च्यासलमा रहनेछ। उनको बिहीबार मात्रै अन्तिम संस्कार हुने बताइएको छ।
नेम्वाङका २ छोराहरु विदेशमा रहेको र उनीहरु स्वदेश फर्किन लागेकाले उनीहरु आएपछि मात्रै अन्तिम संस्कार गरिने परिवार स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।