काठमाडौं– संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थीव शरीर बुधबार पनि पार्टी कार्यालयमा राखिने भएको छ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङको पार्थीव शरीर बुधबार दिउँसोसम्म पार्टी मुख्यालय च्यासलमा राखिने जानकारी दिए। सञ्चारकर्मीसँग बोल्दै ज्ञवालीले नेम्वाङको अन्तिम संस्कार सम्भवत: बिहीबार बिहान हुने जानकारी दिए।
धार्मिक तथा सांस्कृतिक विधिहरु पुरा गरेर राष्ट्रिय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गरिने एमाले नेताहरुले जनाएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गरेको छ। यस्तै, नेम्वाङको अन्तिम संस्कार भएको दिन देशभर शोक बिदा दिने निर्णय भएको समेत सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
प्रतिनिधि सभाका सदस्य एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ काठमाडौंको बालुवाटारस्थित आफ्नो निवासमा अचेत अवस्थामा फेला परेपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। मंगलबार बिहान १:५० अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए।
अस्पतालका १ जना चिकित्सकका अनुसार शिक्षण अस्पतालको आकस्मिक कक्षमा पुर्याइँदा नेम्वाङ जीवित रहेको कुनै संकेत थिएन। यद्यपि मुटुको धड्कन फर्काउने प्रयासस्वरुप सीपीआर (कार्डियोपल्मोनरी रिससिटेसन) गरिएको थियो। मुटुको चाल फर्काउने प्रयास असफल भएपछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए।
नेम्वाङको निधनको खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत नेताहरु मंगलबार बिहानै अस्पताल पुगेका थिए। प्रमुख दलका शीर्ष नेताहरु अस्पताल पुगेका थिए।
अस्पतालबाट विशेष सम्मानसहित केही समय अगाडि नेम्वाङको पार्थीव शरीर निकालिएको थियो।
नेम्वाङका २ छोराहरु विदेशमा रहेको र उनीहरु स्वदेश फर्किन लागेकाले उनीहरु आएपछि मात्रै अन्तिम संस्कार गरिने परिवार स्रोतले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।