काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ६० किलो सुन तस्करी प्रकरणमा आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन तस्करीबारे ‘संगठित सुन तस्करी’ को अनुसन्धान पूरा गरेर सम्भव भए मंगलबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारी सीआईबीले गरेको छ।
अनुसन्धान अन्तिम चरणमा रहेको र प्रतिवेदनमा केही तयारी गरेपछि सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाउने ब्यूरोकी प्रमुख (एआईजी) किरण बज्राचार्यले बताइन्।
जिल्ला सरकारी वकिल कार्यालयमा पनि प्रतिवेदन बुझाउने खबर सीआईबीले गरेको छ। सुन प्रकरणमा राजस्व अनुसन्धान विभाग र सीआईबीले अनुसन्धान थालेको ५५ दिन पूरा भएको छ।
५५ दिनमा अन्तराष्ट्रिय सम्बन्धदेखि सुन तस्करीमा संगठित रुपमा कसरी तस्करी भयो भनी अनुसन्धान प्रतिवेदन तयार गरिएको छ। सुरुमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट सुन बरामद गरेको थियो।
केही चरणको अनुसन्धानपछि साउन २१ गते सीआईबीलाई जिम्मा दिइएको थियो। हङकङबाट तस्करी गरेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले साउन ३ गते विभानस्थल भन्सारको गेटबाट बरामद गरेको थियो।
उक्त प्रकरणमा राजनीतिक सम्बन्धदेखि अन्तर्राष्ट्रिय गिरोहसम्मको सम्बन्धबारे अनुसन्धान गरिएको थियो।
सुन प्रकरणमा हालसम्म ३० जना पक्राउ परेका छन्।
अहिलेलाई अनुसन्धानको प्रतिवेदन जिम्मामा आएपछि अध्ययन गरेर मुद्दा दायर हुने र थप अनुसन्धान गर्नुपर्ने देखिएमा पुरक अभियोगका लागि निर्देशन हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ।
यी हुन पक्राउ परेकाहरु
रामकुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल, किशोर बस्नेत, सुमन खरेल, शिवकुमार सराफ, पुष्पा जोशी, कमल परियार र वीरेन्द्र नेपाली पक्राउ परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।