काठमाडौं– गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति दु:ख व्यक्त गर्दै संविधान सभाको अध्यक्षका रुपमा खेलेको नेतृत्वदायी भूमिका सदाका लागि स्मरणीय रहने बताएका छन्।
मंगलबार बिहान हृदयाघातका कारण निधन भएका नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले नेपालमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवादउन्मुख समावेशी लोकतन्त्रलाई संविधानमा संस्थागत गर्न खेलेको भूमिका स्मरणीय हुने बताएका हुन्।
नेम्वाङको निधनबाट आफू स्तब्ध र अवाक भएकोसमेत मन्त्री श्रेष्ठले बताएका छन्। उनका सद्गुणहरु सबैका लागि प्रेरक र अनुकरणीय रहेको श्रेष्ठले उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘स्तब्ध छु। अवाक भएको छु। संविधान सभाका अध्यक्ष,नेपालको वाम लोकतान्त्रिक आन्दोलनका एक वरिष्ठ नेता एवं नेकपा (एमाले) का उपाध्यक्ष क सुवास नेम्वाङको दु:खद निधनबाट सिंगो देश शोकाकुल भएको छ। उहाँप्रति हार्दिक श्रध्दाञ्जली! शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।