काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको मृत्युले राजनीतिक क्षेत्रका साथै कानुनी वृत्तमा स्तब्धता छाएको छ।
संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख नेम्वाङको राति हृदयघातका कारण मृत्यु भएको हो। एक्कासी एक शालिन एवं सम्वन्यकारी नेताका रुपमा पहिचान बनाएका नेम्वाङको निधनले नेपाली राजनीतिमा एक असल व्यक्तिको अवसान भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेम्वाङको निधनले आफू स्तब्ध भएको बताइका छन्।
उनले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका हुन्। राष्ट्रपति पौडैलले दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टीप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको निधनले मर्माहत भएको बताएका छन्। उनले भनेका छन्, ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु। दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।’
यस्तै सभामुख देवराज घिमिरेले नेम्वाङको अप्रत्यासित निधनले मर्माहित भएको बताए। उनको निधनले नेपालको संसद्ले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको र प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको महसुस गरेको उल्लेख गरे।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन्। सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन्। यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि नेम्वाङको निधनमा दुख व्यक्त गरेका छन्।
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले पनि नेम्वाङको निधनप्रति दुख व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘२०६२/०६३ को जन आन्दोलनपछि पूर्नस्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रुपमा उनले खेलेको तत्वदायी अनुकरणीय भूमिकाको मुलुकले सधै स्मरण गरिरहने छ। नेपालको शान्ति प्रकृया र संबिधानसभाबाट नेपालको संबिधान जारी गराउन उहाँको महत्वपूर्ण भूमिका थियो। उहाँको सुझ बुझपूर्ण ढंगले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरुपण गर्ने शैली सबैका लागि अनुशरणयोग्य छ। उहाँको निधनले नेपालको संसदले एक अनुभवी, असल र लोकप्रिय संसद एवं संसदको पूर्व नेता गुमाएको छ।’
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे लगायत अस्पताल पुगेका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरु पनि अस्पतालमा पुगेका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि अस्पतालमा पुगेर श्रद्वान्जली ब्यक्त गरेका छन्।
नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेम्वाङको निधनले कानुनका एक अभिभावक गुमाएको टिप्पणी गरे। बारले उनको निधनमा विज्ञप्ति निकाल्ने तयारी गरेको छ। राजनीतिमा सक्रिय हुनुअघि उनी कानुन व्यवसायमा जमेका थिए। पायोनियर ल फर्मका संस्थापकमध्येका एक उनी वरिष्ठ अधिवक्ता हुन्।
संवैधानिक कानुन, फौजदारी कानुन र जबरजस्ती करणीका मुद्दामा नेम्वाङ सिद्वहस्त थिए। उनले लामो समय नेपाल ल क्याम्पसमा प्रध्यापकको रुपमा पनि काम गरेका थिए। नेपाल बारका पूर्व महासचिव सुनिलकुमार पोखरेलले नेम्वाङ कुशल नेता मात्र नभई असल शिक्षक पनि रहेको भन्दै उनको मृत्युमा दुख व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।