सभामुख देवराज घिमिरे (फाइल तस्बिर) काठमाडौं– सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको संसद्ले अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको बताएका छन्।
सभामुख घिमिरेले मंगलबार बिहान एक सन्देश जारी गर्दै नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहित भएको बताएका छन्।
नेम्वाङको निधनबाट प्रतिनिधि सभाले एक असल, लोकप्रिय र काबिल सदस्य गुमाएको सभामुख घिमिरेको भनाइ छ। ‘दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ घिमिरेले आफ्नो शोक सन्देशमा लेखेका छन्।
प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङको मंगलबार बिहान १:३० बजेतिर निधन भएको बताइएको छ।
हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएका नेम्वाङलाई चिकित्सकले मृत घोषित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।