काठमाडौं– संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै देउवाले नेम्वाङको निधनले स्तब्ध भएको उल्लेख गरेका छन्।
‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधा सभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छु। उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ देउवाले लेखेका छन्।
काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। उनको मंगलबार बिहान १:३० बजेतिर निधन भएको एमालेका प्रतिनिधि सभाका सचेतक महेश बर्तौलाले जानकारी दिए।
निधन भएका नेम्वाङ एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता हुन्। २०५१ मा राज्यमन्त्री र मन्त्री बनेका उनी दुवै संविधान सभाका अध्यक्ष पनि हुन्। २०४८ मा राष्ट्रिय सभा सदस्य भइ संसदीय यात्रा सुरु गरेका उनी २०५६ देखि २०७९ सम्मका सबै प्रतिनिधि सभा/संविधान सभा निर्वाचनमा विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।