विराटनगर– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका लाखौं युवाहरूको भविष्य खोज्न आफू गम्भीरतापूर्वक लागिरहेको बताएका छन्।
सोमबार विराटनगरमा समाजवादी मोर्चा नेपालको प्रदेशस्तरीय सन्देश सभा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त दाबी गरेका हुन्।
सन्देश सभामा उनले भने, ‘यो सभामा मोर्चाका नेताहरूले जुन विषय राख्नुभएको छ, सरकारप्रति जुन समर्थन र प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यो आफैंमा महत्त्वपूर्ण छ। यसले मलाई नयाँ उर्जा पैदा भएको छ। यसपटक कुरा होइन, काम र एक्सनबाट केही नयाँ गर्न चाहन्छु। जनताका समस्या सम्बोधन गर्न सरकारले जुन मेहेनत गरेको छ, त्यसले हाम्रो इमानदार प्रयासलाई प्रमाणित गरिसकेको छ।’
उनले अहिले देशमा उत्साह पैदा भएको, जनतामा बढेको भरोसा र देशमै केही हुन्छ भन्ने आशा जागेको र यसले निरासालाई चिर्दै समाजवादको आधार तयार पार्न भूमिका खेल्ने बताए।
उनले भने, ‘यसपटक मेरो सबैभन्दा धेरै चासो र चिन्ता विदेशमा रहेका लाखौं नेपाली युवाहरूप्रति छ। उनीहरूको भविष्यबारे नसोचिकन देशको परिवर्तन, विकास र रूपान्तरण सम्भव छैन। त्यसैले यसपटक के गरी उनीहरूको हितरक्षा हुन्छ, के गरी उनीहरूको सुरक्षा र आत्मसम्मान हुन्छ, के गरि देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ, त्यसमा गम्भीरतापूर्वक लागेको छु। विदेशमा रहेका लाखौं युवाहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रक्रिया सुरू गरेका छौँ। केही महिनाभित्र विदेशमा रहेका २५ लाख नेपाली युवाहरूलाई कोषमा आवद्ध गर्छौं।’
युवाहरुले देशभित्रै केही गर्न चाहेको र त्यसको वातावरण बनाउने जिम्मेवारी राज्यको भएको उनको भनाइ थियो। उनले थपे, ‘आजबाट विभिन्न १३ देशमा कार्यरत नेपाली राजदूत बोलाएर अन्तरक्रिया सुरू गरेको छु। विदेशमा रहेका नेपाली कामदारहरूका समस्या के छन् र कसरी सम्बोधन गर्ने भन्ने गम्भीर छलफल गर्छौं।’
प्रदेशको नामाकरणबारे बोल्दै प्रधानमन्त्रीले विवादलाई संवादको माध्यमबाट समाधान गर्न सकिने बताए। उनले भने, ‘एकथरि मान्छेहरू सामाजिक सद्भाव खल्बलाउने र जातीय द्वन्द्व भड्काएर परिवर्तनका उपलब्धि उल्ट्याउने बहाना खोजिरहेका छन्। त्यसमा हामी सतर्क रहनुपर्छ। परिवर्तनका पक्षमा लाखौं जनतालाई सडकमा ल्याएर प्रतिगमनको हावाहुरी समाप्त पार्नुपर्छ।’
उनले पछिल्लोसमय राजनीतिमा कुनै योगदान नभएको, देशप्रति कुनै चिन्ता र सरोकार नभएको, सबैभन्दा अराजक हावाहुरी देखिएको बताए। जसले सबैभन्दा बढी गाली गर्न सक्यो, ऊ नै नेताजस्तो देखाइएको उनको भनाइ थियो।
‘अश्लिल, अराजक, कुनै योगदान र दृष्टिकोण नभएको शक्ति र प्रवृत्तिले समाज विशाक्त पार्दैछन्। सामाजिक सञ्जालमा हेर्नै नसकिने दृश्य, सुन्नै नसकिने गाली देखिन्छ, समाजका सबैभन्दा खराब पात्र नै नेता बनाउन खोजिँदैछ, यो देशको भविष्यकै निम्ति गम्भीर कुरा हो। तसर्थ हामी सचेत हुनुपर्छ। देशमा असल संस्कार, असल राजनीति र निष्ठा स्थापित गर्ने जिम्मेवारी हाम्रो हो, अरूले गर्दैनन् र सक्दैनन् पनि’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।