प्यूठान– प्यूठान नगरपालिकाले यस वर्षदेखि चालू खर्च घटाउने अभियान सुरु गरेको छ। जसका लागि नगर सभाबाटै दुई वर्ष अगाडिदेखि निरन्तर रहेको चालू खर्च १२ करोड ६१ लाखबाट यो वर्ष ६१ लाख घटाइएको उपप्रमुख देवेन्द्र वर्माले जानकारी दिए।
देश भरका स्थानीय सरकार, प्रदेश सरकार तथा संघमासमेत प्रत्येक वर्ष चालू खर्च बढिरहेको अवस्थामा प्यूठान नगरपालिकाले घटाएको छ। ‘हामीले आन्तरिक खर्च सकेसम्म कम गर्नेगरी योजना अगाडि बनाएका छौं,’ उपप्रमुख वर्माले भने।
सकेसम्म यो बजेटलाई ११ करोडमा सिमित राख्ने योजनामा रहेको उनको भनाइ छ। गत आर्थिक वर्षमा विभिन्न जिल्लामा हुने भनि तोकिएका अध्ययन अवलोकन भ्रमणसमेत प्यूठान नगरपालिकाले रोकेको थियो।
प्यूठान नगरपालिकाले पारदर्शितालाई प्रमुख अंग बनाएकोले प्रशासनिक खर्च घटाउन सक्ने अवस्थामा पुगेको वर्माको दाबी छ। ‘अनावश्यक भ्रमण खर्च, विभिन्न कार्यक्रममा गरिने अन्य खर्चहरु, अथिति सत्कारका नाममा गरिने चिया खाजाका खर्चहरु, कार्यालय प्रयोजन बाहिर गरिने इन्धन खर्च, सेवा तथा परामर्श खर्च लगायतका खर्चहरु हामीले गत आर्थिक वर्षमा कटायौं । यि खर्च काट्दा पनि कार्य सहजै देखिएपछि यो पालि बजेटमै घटाएर सभाबाट पास गराएका छौं’, उनले भने।
यसरी कटाएपछि बचेको पैसाले नगरपालिकाभित्रका अभिभावकविहीन बालबालिकालाई मुक्ति माध्यमिक विद्यालयमा निःशुल्क आवासियसहितको १२ कक्षासम्म अध्ययन गराउन थप खर्च जोहो गर्न नपर्ने उनले बताए। साथै उत्पादनमा आधारित अनुदान कार्यक्रममार्फत् नगरभित्रका दुग्ध उत्पादक कृषकले उत्पादन गरेको दूधमा प्रतिलिटर १० रुपैंया नगद उपलब्ध गराएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।