काठमाडौं- नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडले केही बिगार्न नसकेको अर्थतन्त्रमा गठबन्धन नामको चट्याङ परेर समस्या सिर्जना भएको बताएका छन्।
उनले भने, ‘कोभिडले केही समस्या सिर्जना गरेको थियो तर केही बिगारेको थिएन। गठबन्धन सरकार आएपछि एक्कासी चट्याङ परेजस्तो भयो। उद्योग धन्दामाथि चट्याङ परेजस्तो भयो। त्यो अस्तव्यस्त भएपछि समस्या आयो। पुँजी भएन। निर्माण रोकियो। निर्माण रोकिएपछि हार्डवेयर चलेनन्। त्यसको उत्पादनमा समस्या भयो। निर्माण व्यवसाय समाप्त भएपछि बेरोजगारी बढ्ने भयो।’
बैंकहरुले उद्योगीको समस्या नबुझेको उनको भनाइ थियो। साहुजी जस्तो भएर धितो लिलाम गर्न लागेको बताए। उनले थपे, ‘धितो लिलाम गर्ने होइन, समय दिनुपर्छ। म्याद बढाइदिनुपर्छ। ऋण थपिदिनुपर्छ र सञ्चालन गराउनुपर्छ।’
उनले आवश्यकताका आधारमा खुलेका सहकारी अप्ठ्यारोमा नपरेको बताएका छन्। नचाहिएकाहरुले सहकारी खोलेकाले समस्या परेकोसमेत दाबी गरे। उनले भने, ‘जसलाई चाहिएको छैन, तिनीहरुले चलाएकोमा समस्या छ। नचाहिएकाहरुले सहकारी डुबाए।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।