काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरुको सातो गएको बताएका छन्।
समाजवादी मोर्चाले बागमती प्रदेश अन्तर्गत आइतबार हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले सुरु गरेको भ्रष्टाचारविरुद्धको अभियानले प्रतिगामीहरुको सात्तो उडेको बताएका हुन्।
यसपटक सरकारको नेतृत्व गरिरहँदा देश र जनताको पक्षमा देखिनेगरी काम सुरु गर्ने आफ्नो योजना अनुरुप भ्रष्टाचारविरुद्ध निर्मम भएर काम गरिरहेको उनको दाबी छ। उनले सरकार भ्रष्टाचारलाई निर्मुल पार्न, सामाजिक न्याय र सुशासन कायम गर्न कुनै पनि मूल्य चुकाउन तयार रहेको जिकिर गरे। हिजो कुशासन चलाउनेहरु अहिले सरकारले सुरु गरेको अभियानबाट आतिएर सरकारविरुद्ध षड्यन्त्र र घेराबन्दी सुरु गरिरहेको उनले आरोप लगाए।
सरकारको अभियानबाट आतिएका प्रतिक्रियावादीहरुले विभिन्न नाममा एकजुट भएर अहिले विस्तृत शान्तिसम्झौताको भावना र संविधानको मर्म विपरीत सरकारविरुद्ध सबै खाले षड्यन्त्र र तानाबाना बुन्न तल्लिन रहेको उनको भनाइ छ।
‘सरकारले जसरी एकपछि अर्को भ्रष्टाचारका काण्डहरु खोल्दै गएको एकाथरीलाई मन परेको छैन। उनीहरु सरकारविरुद्ध लागेका छन्। हिजो अनेकन भ्रष्टाचारका काण्ड मच्चाउनेहरु एकजुट भएर सरकारविरुद्ध लागेका छन्। कुनै पनि षड्यन्त्र, गुटबन्दी र धम्कीले सरकार अभियानबाट पछि हट्दैन। यसलाई अझै सशक्त ढंगबाट लगिने छ,’ प्रधानमन्त्री प्रचण्डले भने।
समाजवादी मोर्चा निर्वाचनका लागि नभएको प्रष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले अहिलेका उपलब्धि र संविधानको रक्षा गर्दै गणतन्त्रलाई सर्वहारा, समाजवादीहरुको बनाउनका लागि जन्मिएको दाबी गरे। यो मोर्चा लामो संघर्ष र बलिदानबाट देश र जनताले प्राप्त गरेको महान उपलब्धिहरुको रक्षा गर्न बनेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।