काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बीपी कोईराला राष्ट्रिय मात्र नभइ अन्तराष्ट्रिय विचारक भएको टिप्पणी गरेका छन्।
पार्टी मुख्यालय सानेपामा बीपी कोइरालाको ११०औं जन्मजयन्तीको अवसरमा आयोजित बीपी साहित्य महोत्सवको उद्घाटन गर्दै सभापति देउवाले नेपालको संविधानमै समाजवाद उन्मुख व्यस्था राखेको बताए। उनले भने, ‘नेपाल समाजवाद उन्मुख व्यवस्था नेपालको संविधानमा राखेका छौं। तर बीपी राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय नेता, राजनीतिक विचारक र साहित्यकार हुनुहुन्थ्यो।’
बीपी सबै किसिमका विभेदविरुद्ध आगो ओकल्ने व्यक्ति भएको उल्लेख गर्दै देउवाले बीपी समावेशीता, स्वाभिमान, न्याय, समानता, राष्ट्रियता, समाजवाद र प्रजातन्त्रका लागि पहाड झैं उभिएको बताए। उनले भौतिक रुपमा नभए पनि बीपीका विचार सिद्धान्त र साहित्यक कीर्तिले मार्ग निर्देशन गरिरहेको बताए।
उनले भने, ‘बीपी नेपाली राजनीतिको विशिष्ट र बहुआयमिक व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले देखाएको राजनीतिको बाटोमा अहिले पनि हामी हिँडिरहेका छौँ। उहाँका साहित्य अहिले पनि उत्तिकै शक्तिशाली छन्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।