काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अब सरकारको नेतृत्व नेपाली कांग्रेसले लिनुपर्ने बेला आएको बताएका छन्।
अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीका रुपमा अराजक भइसकेकाले अब कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बेला आएको बताएका हुन्।
नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसले नेतृत्व लिन सकेमात्रै आफूहरु अघि बढ्न सक्ने दाबी गरे।
प्रधानमन्त्रीको रुपमा प्रचण्डले आफूलाई मत दिए जातीय राज्य दिन्छु भन्दै हिँड्नु अराजक भएको बताएका छन्। जातीय राज्यको वकालत गरेर समाज भड्काउने काम प्रधानमन्त्रीले गरेको उनको आरोप छ।
उनले भने, ‘देशको प्रधानमन्त्री अराजक भइसक्नुभयो। आदिवासी जनजाति दिवसको दिन उहाँले–मलाई तपाईंहरुले विजयी बनाउनुहोस्, जिताउनुहोस् म जातीय राज्य दिन्छु भन्नुभयो। उहाँ पार्टीको सभापतिको हैसियतामा बोलेको भए मलाई केही अप्ठ्यारो थिएन, बोलिन्छ। तर देशको प्रधानमन्त्रीले गैर जिम्मेवार कुरा गर्न मिल्दैन।’
साथै उनले गत स्थानीय तहको निर्वाचनमा माओवादीलाई सघाउने निर्णय गर्नु कांग्रेसको ठूलो गल्ती भएको बताए। त्यतिबेला कांग्रेसले चितवनमा रेणु दाहाललाई सघाएको थियो।
उनले अब कांग्रेसले सरकारको नेतृत्व लिनुपर्ने बेला आएको र सरकारको नेतृत्व कांग्रेसले गरे मात्रै कांग्रेस अघि बढ्नसक्ने दाबी गरे।
यस्तै संसदीय प्रणालीमा प्रधानमन्त्रीबाहेक अन्य कुनै मन्त्रीको भूमिका नहुने उनको भनाइ छ। प्रधानमन्त्री र मुख्यसचिव बसेर गरेको जुनसुकै निर्णय भए पनि मन्त्रिपरिषद्ले सदर गर्नुपर्ने यदि कुनै मन्त्रीले आपत्ति जनाए त्यस्तो मन्त्री बाहिरिनुपर्ने अवस्था रहेको नेता कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।