काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरु अहिले पनि क्रियाशील रहेको बताए।
जात/जात, वडा/वडा, पालिका/पालिका मिलेर बसेको देख्न नसक्नेहरुले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको ओलीको भनाइ थियो। तिजको अवसर पारेर पार्टी निकट महिला संगठन अखिल नेपाल महिला संघ, मध्यपुर थिमी नगर कमिटीले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले हाम्रा चाडपर्वहरुसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद् नभएको पनि बताए।
अध्यक्ष ओलीले हाम्रा चाडपर्वको अर्थ सामाजिक सदभाव कायम गर्नु रहेको उल्लेख गर्दै त्यसले सबै समुदायमा निकटता ल्याउने माध्यामको रुपमा काम गरिरहेको पनि स्मरण गराए। तिज पर्वले महिलाहरुमा सबैभन्दा बढी खुशीयाली ल्याएको भन्दै उनले त्यसो हुनु सबैका लागि खुशीको कुरा भएको पनि बताए।
उनले भने, ‘हाम्रो हरेक चाडका पछाडि विशेष अर्थ, विशेष महत्व छ। त्यसको एउटा धार्मिक पक्ष होला। धार्मिक पक्षको रुपमा त्यसलाई विकास गरिएको होला। यसको अन्ततर्य चाहिँ के हुन्छ, सारतत्व चाहिँ के हुन्छ? भन्ने सामाजिक सुप्रबन्धलाई, सामाजिक व्यवस्थालाई अझ राम्रो बनाउनु हो। यसमा पीर गर्नेहरु पनि छन् अहिले। र, साम्प्रदायिक विद्वेष फैल्याउने तत्वहरु पनि छन्। चाडको अर्थसँग त्यस्ता सोचहरु ठ्याम्मै मिल्दैनन्। किनभने चाडको अर्थ सामाजिक सदभाव कायम गर्नु हो।’
अध्यक्ष ओलीले चाडपर्वहरुलाई नेपालीहरुले उत्सवको रुपमा मनाउने गरेको र त्यसले सामाजिक प्रवन्धहरुलाई व्यवस्थित बनाउन महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।