काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशको जटिलता हल गर्ने दुई वटा उपाय रहेको बताएका छन्। शनिबार पार्टी निकट ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै उनले मिलेर जाने वा चुनावमा जाने उपाय रहेको बताए।
उनले आफूहरूलाई चुनावमै गए पनि फरक नपर्ने बताए। 'हाम्रो साथीहरूको हिसाब छ, चुनाव भयो भने पनि हाम्रो पार्टीलाई फाइदै हुन्छ। अहिले हामीसँग त्यहाँ चार सिट छ। त्यो सिट संख्या बढेर हामीले दोब्बर तेब्बर ल्याउन सक्छौँ भन्ने विश्वास छ। अरु पार्टीहरूको सातो गएको छ', उनले भने।
एमालेलाई लक्षित गर्दै अध्यक्ष नेपालले अहिले ४० सिट रहेको पार्टी चुनावमा गइयो भने २० भन्दा त बढ्दैन भनेर डराइरहेको बताए। त्यस्तै, कांग्रेसलाई लक्षित गर्दै उनले २९ वटा सिट रहेको पार्टी चुनाव भयो भने त्यति पनि आउँदैन भनेर डराइरहेको बताए।
चुनाव भएमा देशको सम्पत्ति खर्च हुने र राष्ट्रलाई बोझ पर्ने भएकाले सकभर त्यता जानु नपरोस् भनेर कुनै उपाय निकालियोस् भन्ने पक्षमा आफूहरू रहेको उनले बताए।
कोशी प्रदेशमा शुक्रबार मात्रै एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका छन्। तर उनले तीस दिनभित्र विश्वासको मत प्राप्त गर्नेमा आशंका व्यक्त भएका छन्। त्यसपछि धारा १६८ (५) अनुसार कुनै सांसदको नेतृत्वमा निर्वाचन गर्ने वा मध्यावधिमा जाने मात्रै विकल्प देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।