काठमाडाैं- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सत्ता गठबन्धनले काेशी प्रदेशमा असंवैधानिक हर्कत गरेकाे बताएका छन्।
शनिबार बिहान दलहरूलाई गम्भीर बन्न अपिल गर्दै उनले २/२ पटक गठबन्धन सरकारले संविधान र कानुन मिचेर सभामुख र सभाध्यक्षलाई मतदान गराउँदै अवैधानिक ढंगले सत्तामा टाँसिन गरेकाे हर्कत पतनकाे बाटाे भएकाे र याे लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत भएकाे बताए।
'पहिलेको सत्ताधारी पक्षले जानीजानी २/२ पटक संविधान मिचेर संसद् विघटन गरेको थियो र त्यसलाई सबैले प्रतिगमनकारी कदम भनेर विरोध गरेपछि अदालतमार्फत सच्याइएको थियो। त्यो प्रतिगमनकारी कदमको विरोध गरेर सत्तासीन भएको अहिलेको सत्ताधारी पक्षले १ नं प्रदेशमा त्यसरी नै २/२ पटक संविधान र कानुन मिचेर सभामुख र सभाध्यक्षलाई मतदान गराउँदै अवैधानिक ढंगले सत्तामा टाँसिने हर्कत गर्यो र अन्ततः सर्वोच्च अदालतले त्यसलाई दण्डित गन्यो। हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू नै यसरी पतन हुनु लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत हो।'
यसैलाई देखाएर देशी र विदेशी पुनरुत्थानवादी शक्तिहरू अहिले संघीय लोकतान्त्रिक गणतन्त्र नै उल्ट्याउन उद्यत भइरहेकाे टिप्पणी उनले गरेका छन्। एकातिर दिनदहाडै खुकुरी नचाउँदै ताण्डव मच्चाउनु र अर्कोतिर विभिन्न प्रायोजित जोगी र बाबाहरूको भेषमा जनताको अग्रगामी र लोकतान्त्रिक चेतना भुत्ते पार्ने कसरत गर्नु त्यसैको परिचायक भएकाे उनले बताएका छन्।
जसकारणा देशलाई सुशासन र समृद्धिको दिशामा अधि बचाउन नयाँ वैकल्पिक शक्तिको उदय अपरिहार्य भएको भन्दै उनले आवश्यक पहल गर्ने बेला भएकाे टिप्पणी गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।