कुनैकुनै सिर्जनाको शीर्षकले नै बढी आकर्षित गर्छ। शीर्षकले पैदा गर्ने खुल्दुलीले पनि पुस्तक पढ्न प्रेरित गर्छ। ‘चिसो बाफ’ उपन्यासको शीर्षक यस्तै प्रतीकात्मक छ। शीर्षकमात्र नभई यस उपन्यासको कथावस्तुसमेत निकै पृथक छ। खासमा तातो बाफको स्पर्श लिने बानी परेका हामीलाई चिसो बाफ पनि जीवनको अर्को पाटो हो भन्ने स्वीकार गर्न गाह्रो पर्छ।
‘चिसो बाफ’ उपन्यास, नेपाली युवक र युवतीको कथा भए तापनि यसको कथा–भूमि बेलायत हो। बेलायत वा युरोपको कुनै व्यस्त सहरमा बस्ने मानिसको दैनिक जीवनलाई यसले खोतलेको छ। युरोपका धेरै सहरमा पढ्नका लागि आएका विदेशी विद्यार्थीको जीवनमा केकस्ता मोड आउँछन्, त्यसको चर्चा ‘चिसो बाफ’मा पाइन्छ। अझ महामारी, युद्ध वा अफ्प्ठेरो परिस्थितिमा बाहिरी मुलुकबाट आएका मानिसले भोग्नुपर्ने उल्झन उपन्यासले देखाएको छ।
उपन्यासको मुख्य पात्र दर्शनशास्त्र पढ्दै गरेको अमित सापकोटा हो। वा उसकै उमेर समूहको जुनसुकै युवकलाई तपाईं उपन्यासको पात्र मान्न सक्नुहुन्छ। मुना शर्मा उसकी प्रेमिका हुन्छे। अमित–मुनाको भेट बेलायतको नटिङ्घममा भएपछि उनीहरू छोटो समयमा नै लिभिङ टुगेदरमा बस्छन्। यो कुरा दुवैको परिवारलाई धेरै पछिसम्म थाहा हुँदैन। रहँदै–बस्दै जाँदा उनीहरू जीवनमा एक अर्काप्रति यति धेरै जोडिइसकेका हुन्छन् कि कुनै एक नरहँदा जीवन अगाडि बढ्न सक्ने अवस्था आउँदैन।
सोझो कथा यही भए पनि यहाँ आउने उतार–चढाव एवंसहायक घटनाले उपन्यासलाई रोचक बनाएको छ। कथा प्रेमको भए पनि यसले जीवन–मृत्यु र अस्तित्वमाथि चिन्तन गरेको छ। पश्चिमा साहित्यको गहन अध्ययन गरेका उपन्यासकार सापकोटामा अस्तित्ववादी लेखकहरूका प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव तथा पछिल्लो समय विश्व आख्यान लेखनमा चलेको शैली पनि महसुस गर्न सकिन्छ।
लेखकका अनुसार आफू बेलायत बसेको र कोभिड महामारीको पीडा देखे–भोगेकाले पनि यो उपन्यास लेखनमा त्यसको प्रभाव परेको छ।
गोपी सापकोटाको यसअघि ‘काँचो कागज’ उपन्यास प्रकाशित थियो। उनको लेखनको मुख्य विधा नाटक, कविता र उपन्यास हो। उनका नाटकहरू पढ्दा वा हेर्दा पनि त्यसमा कथानक बलियो पाइन्छ। सायद उनको कथा लेखनको सुरुवात नाटकबाट नै भएको थियो। (सापकोटाको ‘पूर्णविराम’, ‘खरानी’, ‘कालो आकृति’ र ‘प्रेम कतिपय’ गरी चारवटा नाटकसंग्रह तथा ‘एक अन्त्य, एक सुरुआत’, ‘गुलाफको एस्ट्रेमा मृत्यु’ र ‘अ सुसाइड नोट’ गरी तीन कविताकृति प्रकाशित छ। काँचो कागज र चिसो बाफ उनको पछिल्ला दुई उपन्यास हुन्। सापकोटा नेपाली र अंग्रेजी दुवै भाषामा लेख्छन्।)
०००
कुनै ठूलो घटना नघटिकन अथवा कुनै पूर्वघटना वा परिस्थितिको सृजना नभईकन पनि जीवनमा प्रलय आउन सक्छ भन्ने संकेत उपन्यासले दिन खोजेको छ। त्यस्तो संकटमा मानिसले कसरी सामना गर्छ त्यो देखाउन खोजिएको छ। यसरी हेर्दा चिसो बाफ मनोविज्ञानको कथा पनि हो। मानिसलाई मनोविज्ञान (दिमाग, सोचविचार) ले निर्देश गरेको हुन्छ। त्यसमा अलिकति तल–वितल हुनेबित्तिकै जीवन प्रभावित हुन्छ।
तर के मानसिक अवस्था बिग्रिँदा वा अलिकति तलमाथि हुनेबित्तिकै मानिस असामाजिक वा खराब हुने हो त?
उपन्यासले भन्छ, मानिसको मनोविज्ञानमा आएको फेरबदलले मात्र उसलाई असमाजिक भन्न मिल्दैन। ऊ झन् बढी प्रेमिल, करुणामय र जीवनचेतले भरिपूर्ण बन्न सक्छ। भौतिक वा शारीरिक रुपमा कमजोर हुनु सामान्य हो। तर मानसिक समस्यासँग जुध्दैमा मानिस खराब हुँदैन।
उपन्यासको मध्यतिर एउटा घटना घटेको छ। जहाँ जिउँदो मानिसले मृत्यु–संसारमा विचरण गरेको कथा छ। मानिस मरेपछि कस्तो घटना घट्छ वा उसले के महसुस गर्छ भन्ने कुरा जीवनकालमा नै अनुभव गर्न पाउने ठाउँमा अमित र मुनाले यात्रा गर्छन्। टिकट काटेर एउटा भिडियोगेम वा थ्रीडी सिनेमा हेरेजस्तो ठाउँमा गएर मानिसले मृत्युपछिको जीवन अनुभव गर्न पाउँछ। त्यस्तो ठाउँ र खेल वास्तविक संसारमा छैन। यो लेखकको कल्पनामात्र हो। यो प्रयोग सम्भववतः नेपाली साहित्यमा पहिलो हो।
यस्तै एक रेस्टुराँमा प्लास्टिकको रूख र फूल देखेपछि अमित र मुनाले गरेको संवादले विपर्यास देखाउन खोजेको छ। प्लास्टिकको रूखको फूल भुँइमा खसेको हुँदैन। तर शीत वा पसिना आएको हुन्छ। यदि साँच्चिकै फूल भए रूखबाट खसेका फूल, पात, हाँगा भुँइभरि हुने थियो। तर प्लास्टिकको फूल जुनसुकै याम, घाम वा परिस्थितिमा पनि एकोहोरो फुलिरहेको छ।
आख्यानकार अमर न्यौपाने पनि चिसो बाफको कथाको संरचनामा नौलो प्रयोग र काल्पनिकता पाइने बताउँछन्। न्यौपाने भन्छन्, ‘सिर्जना आविष्कार हो र लेखनमा आविष्कार गर्ने गोपी सापकोटाको ट्रेन्ड हो। नेपाली भाषामा लेखिएका अन्य कथाभन्दानवीन शैली यो किताबमा छ। लेखकले असामान्य कथालाई समेत सहज ढंगले लेखेका छन्।’
यसरी कथा भन्ने शैली, कथाको विषय, पात्र एवं घटनाले चिसो बाफ उपन्यास पृथक बनेको छ। सम्पूर्ण रुपले हेर्दा उपन्यासको लागि कथा छोटो देखिन्छ। थोरै पात्रको प्रयोग गरेकाले कतैकतै पाठकलाई कथा पढ्दा नीरस लाग्न सक्ने देखिन्छ।
यद्यपि चिसो बाफ उपन्यासले मानिसको जीवनको क्षणभङ्गुरतालाई देखाएर जीवन सम्पूर्णतामा हेर्दा कहीँकतै मिलेको छैन, भनेको छ। अथवा मिलाउन खोज्दाखोज्दै मिल्दैन भनेको छ। प्रेम र यौवनको रागमा मानिसले जीवनको कटु भुल्छ। अभाव वा दुःखमा पुनः जीवनमाथि चिन्तनः गर्छ।
अनि भनेको छ, तातो बाफको स्पर्शले न्यानो बन्नुपर्ने जीवन, यदाकदा चिसो–बाफको धुँवामा रुमलिन्छ।
विधा : उपन्यास
प्रकाशक : कलम प्रकाशन, काठमाडौं
मूल्य : ४ सय ४५ रुपैयाँ
पृष्ठ : २ सय २८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।