काठमाडौं– बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड नोटिसका लागि पत्राचार गरिएको छ।
यो सहकारीले ठगी गरेको भन्दै १ हजार ५९७ जनाले जाहेरी दिएपछि संस्थाका अध्यक्ष समेत रहेका मेयर नेपाली फरार छन्। उनी भागेर विदेश पुगेको पाइएपछि पक्राउ गर्नका लागि प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)को सहयोग लिइएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी मदन केसीले नेपालीलाई पक्राउ गर्नका लागि इन्टरपोलमा पत्राचार गरिएको बताए। इन्टरपोलले रेड नोटर जारी गरेपछि यसका सदस्यहरु नेपालीलाई पक्राउ गरी बुझाउने बाटो खुल्छ।
पीडितहरुबाट परेको जाहेरीअनुसार प्रहरीले गरेको अनुसन्धानबाट यो सहकारीले १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ ठगी गरेको पाइएको छ। ढोरपाटन नगरपालिकाका प्रमुखसमेत रहेका नेपाली जेठ ५ देखि सम्पर्कमा छैनन्। इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित कार्यबाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्य चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गृह मन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो। हालसम्म उनीहरु बेपत्ता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।