काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले देशको नयाँ (चुच्चे) नक्साबारे अन्तर्राष्ट्रिय समुदायलाई कसरी जानकारी गराइएको भन्नेबारे सरकारसँग जवाफ माग गरेका छन्।
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले चुच्चे नक्साबारे चीनलाई कसरी जानकारी गराइएको हो भन्नेबारे पनि प्रश्न गरे। चुच्चे नक्साबारे चीनलाई जानकारी गराइएको कुरा बाझिएको उल्लेख गर्दै नेपालले त्यसबारे स्पष्ट जवाफ आउनुपर्ने माग गरे।
‘परराष्ट्र मन्नत्रालयले नक्साबारे चीनसँग एक्लाएक्लै कुरा गरेको हो कि आधिकारिक रूपमा गरेको हो?’ नेपालले प्रश्न गरे, ‘यसमा सहभागी भएको कोही अधिकारी त होला? मौखिक रूपमा मात्रै हो कि लिखित रूपमा हो, सबै राजदूतलाई गराएको हो कि एउटालाई मात्र हो?’
उनले चीनियाँ पक्षले एकलौटी रुपमा नेपालको भूमि समेत जोडेर नक्सा जारी गरेपछि अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने भन्दै यो नक्सा मात्रै नभइ अन्तर्राष्ट्रिय सम्बन्धको कुरा भएको दाबी गरे।
‘सबै देश र तिनका राजदूतले बुझ्नुपर्ने कुरा नेपाल भूराजनीतिक संवेदनशीलताको स्थितिमा छ,’ नेपालले भने, ‘यो कुरालाई ध्यानमा राखेर विचार अभिव्यक्तिमा ध्यान दिउँ। होइन भने एक अर्काको नेपाल बीचमा पर्ने हुन्छ। यो राम्रो होइन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।