काठमाडौं- पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन्।
बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू नेकपा एमाले र नेकपा (एकीकृत समजवादी) पार्टीमा जानसक्ने तर माओवादी केन्द्रमा नजाने बताए। जनयुद्ध कालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धका पीडितका घर-घरमा पुगेर माफी माग्नुपर्ने उनको भनाइ थियो। व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभइ गल्ती भएको उनले बताए।
एमालेलाई नछाडिकन कम्युनिष्टहरूबीच एकता हुनुपर्ने भनाइ उनले राखेका थिए।
यसैगरी उनले एमालेले ७० वर्षे उमेर हद हटाउनुपर्ने बताए। एमालेले उमेर हद हट्यो भनेको भए पनि नहटेकाले त्यसलाई हटाउनुपर्ने विचार उनको थियो। संविधानको धारा २४ को विरुद्धमा हुने भएकाले उमेर हद लागू गर्न नहुने पक्षमा उनी देखिएका थिए। उनले भने, ‘त्यो व्यवस्था उँच, निच, छुवाछुत, जातिपाति, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ। उमेर हद नेपालको संविधान विरोधी छ, त्यो हट्नैपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।