काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन्।
बुधवार दिउँसो राष्ट्रपति पौडेलले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका हुन्। सो अवसरमा उनले कृष्ण मन्दिरभित्र भगवान श्रीकृष्णको पूजा आराधना र प्रसाद ग्रहणसमेत गरेका थिए।
बुधबार श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको थियो। हिन्दू धर्मअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीमा कृष्ण जन्मिएको विश्वासका साथ यस दिन पर्वका रूपमा मनाउने गरिन्छ।
किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेको थियो। त्यसपछि पाटनमा तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।