काठमाडौं- नेपाल विद्यार्थी संघ (नेविसंघ)को संस्थापन इतर पक्षले बारामा समानान्तर कमिटी गठन गरेको छ। जिल्लाको बृहत् विधार्थी भेलाबाट समानान्तर जिल्ला अध्यक्षमा प्रविण सिंह राउतलाई चयन गरिएको छ।
मंगलबार मात्रै नेविसंघका अध्यक्ष दोजाङ शेर्पाले बारा जिल्लामा समीर चौधरिको नाममा पत्र काटेर अध्यक्षको जिम्मेवारी दिएका थिए। नेपाली कांग्रेस जिल्ला सभापतिले गरेको सिफारिसविपरीत अध्यक्ष शेर्पाले मापदण्ड र संगठनको विधिविधानलाई कुल्चेर पत्र काटेको आरोप लगाउदै इतर समूहका विधार्थी नेताहरूले विरोध जनाएका थिए।
शेर्पाले पठाएको पत्र बाहिरिएपछि इतर केन्द्रीय सदस्यहरूले सामानान्तर समिति गठन गर्न निर्देशनसहितका धारणा राखेका थिए।
बिहीबार बारा जिल्लाको सदरमुकाम कलैयामा आयोजना भएको बृहत् विधार्थी भेलामा प्रमुख अतिथि नेविसंघ केन्द्रीय सदस्य भुवन भट्ट, विशिष्ट अतिथिहरू मधेश प्रदेशबटा प्रतिनिधित्व गर्ने नेविसंघका केन्द्रीय सदस्यहरू हरिओम शाह, कमलेश पटेल, राजकिशोर शाह, विकेस पटेल, पुष्पेन्द्र गोइत,मुनराज तिवारी लगायतको उपस्थितिमा समानान्तर कमिटी गठन भएको हो।
विद्यार्थी भेलाबाट संगठनको गरिमा बचाउन जिल्ला अध्यक्ष घोषणा गरेको नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले बताए। मापदण्ड, विधिविधान र आन्तरिक सहमति विपरित मनोमानी ढंगले पत्र काट्नु गलत र अवैधानिक भएको उनको भनाइ छ।
विधार्थी भेलाले चयन गरेका जिल्ला अध्यक्ष राउतलाई नेपाली कांग्रेस बारा जिल्ला उपसभापति मनोज भट्ट, जिल्ला सचिवद्वय राजेश रौनियार र भैयाराम यादवको समेत साथ रहेको दाबी पनि उनले गरे। अध्यक्ष घोषणापछ उनीहरू कार्यक्रम स्थलमै आएर अध्यक्षलाई बधाई दिएको नेता भट्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।