काठमाडौं- गैरआवासीय नेपाली(एनआरएनए)लाई दिइने नागरिकताको प्रावधानसहितको व्यवस्था भएको नियमावली अन्तिम मस्यौदाका लागि विधेयक शाखामा पठाइएको छ।
सरकारका मुख्य सचिव वैकुण्ठ अर्यालले एनआरएनए नागरिकता सम्बन्धी व्यवस्था भएको उक्त नियमावलीलाई अन्तिम रुप दिन मन्त्रिपरिषद्को विधेयक शाखामा दर्ता भएको नेपाल लाइभलाई जानकारी दिए।
नियमावली मन्त्रिपरिषद्बाट पारित भएपछि लागू हुने कानुनी प्रावधान रहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत जेठमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका थिए।
ऐन जारी भएलगत्तै ०७२ भन्दा अघि जन्मका आधारमा नेपालमा नागरिकता लिएका व्यक्तिका सन्तानलाई वंशजको नागरिकता दिने विषय कार्यान्वयनमा गएको भए पनि नयमावली नहुँदा अन्य नयाँ प्रावधान भने रोकिएका थिए।
नियमावाली पारित नहुँदा गैरआवासीय नेपालीहरू नागरिकता लिनबाट वञ्चित हुँदै आएका थिए। उक्त ऐन मन्त्रिपरिषद्बाट पारित भएसँगै विभिन्न मुलुकमा रहेका १५ लाख गैरआवासीयले उक्त सेवा लिन पाउने भएका छन्।
गैरआवासीय नेपालीहरूलाई मतदान गर्न, राजनीति गर्न पाउने र कुनै सरकारी पदमा बस्ने पाउने सुविधा भने नहुने प्रावधान नियमावलीमा रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।