काठमाडौं– नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित भएका छन्। प्रतिस्पर्धी हरिप्रसाद रिजाल (पाल्पा)लाई हराउँदै कँडेल अध्यक्षमा विजयी भएका हुन्।
विजयी कँडेलले ४७९ मत ल्याए। उनका प्रतिस्प्रधी रिजालले ४७७ मत ल्याए। रिजालभन्दा २ मत बढी ल्याएर कँडेल अध्यक्षमा निर्वाचित भए।
अध्यक्षमा विजयी भएका कँडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुन्। पराजित रिजाल महासचिव शंकर पोखरेल निकट हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व सहमतिका आधारमा चयन गर्न जोड दिए पनि पौडेल र पोखरेल गुटबीच ‘प्रतिष्ठाको लडाइँ’ले मतदानमा गएको लुम्बिनीका एमाले नेताहरुले बताउँदै आएका छन्।
उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित भएका छन्। उनले ४५५ मत ल्याए। श्रेष्ठका प्रतिस्पर्धी विश्वराज बरालले ३०६ मत ल्याए।
उपसचिव पुरुषमा ४२८ मत ल्याएर रोल्पाका पूर्ण बुढा मगर विजयी भएका छन्। उनका प्रतिस्पर्धी बाँकेका दुर्गाप्रसाद थारु चौधरीले ३९३ मत ल्याए। बुढामगर भने अध्यक्षमा पराजित रिजाल प्यानलका हुन्।
उपचसिव महिलामा बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिस्पर्धी बाँकेकी बस्नती अधिकारीले ३५१ र बाँकेकै आरती पौडेलले २२१ मत ल्याइन्।
सचिवमा भने लक्ष्मण आचार्य निर्विरोध निर्वाचित भइसकेका छन्। सचिवसहित भूगोलतर्फ १२मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका हुन्। भूगोलतर्फ बाँके, दाङ, गुल्मी र रुपन्देही गरी ४ जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।