काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा सैनिकलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभुति दिलाउन नसकेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित पूर्वगोरखा सैनिकको समस्या समाधानको लागि एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पहिलो र दोस्रो विश्वयुद्धका साथै ब्रिटिशको तर्फबाट लडिएका प्रत्येक युद्धमा अग्रमोर्चामा रहेर देशको रक्षा, बिस्तार र सेवामा समर्पित गोरखालीहरुलाई ब्रिटिश सरकारले समान व्यवहार र न्यायको प्रत्याभूति दिलाउन नसकेको बताए।
उनले यो विषय सबै नेपालीहरुको लागि गम्भीर सरोकार र चुनौतिको विषय बनिरहेको उल्लेख गरे। उनले गोरखालीहरुले ब्रिटिश राज्यको हीतको पक्षमा आफ्नो सम्पूर्ण जीवन समर्पित गरे पनि ब्रिटिश सेनामा भर्ती भएका नेपालीहरुलाई तलब, सेवा सुविधा, पेन्सन लगायतका विषयमा समान व्यवहार हुन नसकेकोले सरकारले अहिले भारत र बेलायतसँग यस बारेमा आवश्यक छलफल गर्ने काम गरिरहेको बताए।
उनले अहिले वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पनि समान व्यवहार, श्रमको उचित मूल्य र आत्मसम्मान पाउन नसकेको स्वीकार गरे। उनले भुतपूर्व गोरखा सैनिकको समस्या राष्ट्रिय स्तरबाट मात्र समाधान गर्नसक्ने मुद्दा नभएर दिव् एवं बहुपक्षिय रुपमा उठाउनुपर्ने र समर्थन गर्नुपर्ने मुद्दा भएको बताए।
प्रधानमन्त्री दाहालले गोरखा सैनिकको समस्या समाधानका लागि सरकार जिम्मेवारपूर्ण ढंगले अभिभावकत्व प्रदान गर्ने दाबी गरे। अन्तर्राष्ट्रिय मञ्चमा जाँदा सम्बन्धित पक्ष र देशसँग गोरखा सैनिकको मुद्दाका बारेमा गम्भीर रुपमा प्रश्न उठाउने गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।