काठमाडौं– कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निकट कर्मचारीहरुलाई राजनीतिक नेतृत्व रहने सरकारको निर्देशन मान्न निर्देशन दिएका छन्।
कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा मंगलबार सम्बोधन गर्दै सभापति देउवाले अन्यथा गाह्रो पर्ने चेतावनी दिएका छन्।
‘कर्मचारीले भोट कहाँ खाल्ने हो, हाले हुन्छ आफ्नो ठाउँमा। तर सरकारको कुरा त मान्नु पर्यो नि भोट एमालेलाई हाले हुन्छ, माअोवादीलाई हाले हुन्छ। तर सरकार हुन्जेल सरकारको कुरा मान्नुपर्ने हुन्छ,’ उनले भने, ‘होइन भने गार्हो पर्छ। संसारभरिको लडाइँ हो कर्मचारी र सरकारको। तर यसलाई सन्तुलन मिलाएर लानुपर्छ।’
उनले चित्त नबुझे पनि मन्त्रीको कुरा मान्नुपर्ने बताए। उनले भने, ‘मन्त्रीको भइसक्यो, चुनाव जितेर आइसक्यो के गर्नुहुन्छ? मन पर्छ पर्दैन, मन्त्री भइसक्यो त। त्यसकारण मन्त्रीको कुरा पनि मान्नुपर्छ। मन्त्रीको कुरा मानेन भने त उसले पनि निर्णय गर्छ।’
सरकार ब्युरोक्रेसीबीच राम्रो सन्तुलन हुनुपर्ने उनको भनाइ थियो।
उनले आफू गृहमन्त्री हुँदा एक प्रहरी अफिसरलाई हटाइदिएको समेत स्मरण गरे। उनले भने, ‘म भर्खर गृहमन्त्री भएको बेला एउटा प्रहरी अधिकृतले यस्ता मन्त्री त आउँछन् जान्छन् भनेछ। लौ त म कहिले जान्छु तिमी चाहिँ जाऊ भनेर हटाइदिएँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।