काठमाडौं– ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको किर्ते मुद्दामा आज (मंगलबार)देखि प्रतिवादीका कानुन व्यवसायीले बहस गर्ने भएका छन्।
काठमाडौं जिल्ला अदालतमा जारी प्रारम्भिक (थुनछेक)को सुनुवाइमा सरकारी वकिलले बहस सकिसकेका छन्। सोमबार भएको बहसमा सरकारी वकिलले प्रतिवादी बनाइएका सबैलाई थुनामा पठाउनुपर्ने जिकिर गरे। सोमबार सरकारी वकिलका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्यूतमणी नेउपानेसहित ६ जनाले बहस गरेका थिए।
सरकारी लिखत तथा दस्तखत किर्ते गरी ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने काम गरेको भन्दै २९० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। उक्त किर्ते प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो।
सीआईबीले आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउँदै संगठित अपराधको समेत मुद्दा चलाउन सिफारिस गरेको थियो। संगठित रुपमा नै किर्ते भएको देखिएको भन्दै सीआईबीले संगठित अपराधको कसुरमा पनि मुद्दा चलाउन सिफारिस गरेकोमा सरकारी वकिलले भने किर्तेमा मात्रै मुद्दा दर्ता गरेको हो।
२९० जना प्रतिवादी बनाइको मुद्दामा प्रतिवादी तर्फका कानुन व्यवसायीको बहस भने केही दिन चल्ने देखिन्छ। प्रतिवादी तर्फका कानुन व्यवसायीको बहसपछि सरकारी वकिलको जवाफी बहस हुनेछ। जवाफी बहस सकिएपछि काठमाडौं जिल्ला अदालतले प्रतिवादीलाई थुनामा कि तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश दिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।