काठमाडौं- नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमसीसी परियोजनाको सम्बन्धमा कसैले विवाद गर्नु नहुने बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले एमसीसी परियोजना राष्ट्रिय स्वार्थ अनुकूल भएन भने सम्झौता खारेज हुने भन्दै यस विषयमा फेरि विवाद गर्नु नहुने बताए। मुलुक र जनताको हितलाई केन्द्रमा राखेर एमसीसी परियोजना कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो। एमसीसीको सम्बन्धमा सिंगो राष्ट्र एक हुनुपर्ने उनले बताए।
‘एमसीसी एउटा सन्दर्भमा आयो। आइसकेपछि नेपालको सिंगो संसद्ले १२ बुँदे व्याख्यात्मक घोषणासहित हामीले हाम्रो राष्ट्रिय स्वार्थ अनुकुल भएन भने हामीले यो सम्झौता खारेज गर्न पाउने अधिकारसहित सुनिश्चित भएपछि यो परियोजना कार्यान्वयन प्रक्रियामा अगाडी बढेको छ,’ उनले भने, ‘हामीले कार्यान्वयन प्रक्रियालाई सहयोग गर्ने। सबैले सहयोग गरेर पाँच वर्षभित्र कमसेकम विद्युत बिस्तार र सडकको क्षेत्रमा जो लगानी हुँदैछ। यसको भरपुर मुलुक र जनताको हीतलाई केन्द्रमा राखेर एमसीसी कार्यान्वयन गर्ने प्रक्रियामा जान्छ।’
उनले सर्तकतापूर्वक विश्वासमा लिएर यो परियोजना अगाडि बढ्ने बताए। उनले भने, ‘सिंगो राष्ट्र एक हुनुपर्छ यो (एमसीसी) मामिलामा। फेरि विवाद गर्नु हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।