काठमाडौं– राज्यका निकायबीच गतिलो समन्वय नहुुँदा दुराअवस्थामा पुगेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्देशन दिएका छन्। सबै निकायलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाएर मन्त्री ज्वालाले ‘टाइम लाइन’ नै तोकेर काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिएका हुन्।
‘सडक विभागले सडक कालोपत्रे गर्छ, केही दिनमै त्यही सडक विधुत प्राधिकरणले खन्छ। फेरि कालोपत्रे गरिन्छ, लगत्तै टेलिकमले खन्छ, फेरि कालोपत्रे गरिन्छ, लगत्तै काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ढल महाशाखालगायतले खन्छ, यसरी सडकको बेहाल भयो’, संघीय सडक सुपरीवेक्षण तथा अनुगमण कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्यालले मन्त्री ज्वालालाई उद्धृत गर्दै भने, ‘सडकको यो हरिबेजोग हेरेर बस्न सकिदैनँ, टाइम लाइन तोकेर सडक सुधारमा लाग्नुहोस्।’
मन्त्री ज्वालाले बोलाएको सडकसँग सम्बन्धित उच्चस्तरीय बैठकमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सेना, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका रमेश केसी, ढल महाशाखाका डोलप्रसाद चापागाईं र नेपाल टेलिकमका प्रतिनिधिको सहभागिता रहेको थियो।
बैठकमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालको पनि सहभागिता रहेको थियो।
मन्त्री ज्वालाको निर्देशनपछि विद्युत् प्राधिकरणले तार र पाइपहरू अन्डर ग्राउण्डेट गरिसकेका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाइएको छ। बैठकमा प्राधिकरणका महानिर्देशक घिसिङले काम सम्पन्न भएका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाए।
काठमाडौं उपत्यकाभित्र प्राधिकरणले ५० किलोमिटर सडकमा तार अन्डरग्राउन्ड गरिरहेको छ। ३२ वटा सडकको ५० किलोमिटरमा काम थालेपनि केही स्थानमा मात्र सम्पन्न भएको छ भने सम्पन्न भएका ठाउँमा पनि सडक सुधार गरिएको छैन। अझै ३३ सडकको ७७ किलोमिटर सडक खन्न अनुमति मागेको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १९ सडकको १७ किलोमिटरमा हाल काम गरिरहेको छ। खानेपानी लिमिटेडले पनि पाइप विछ्याएपछि सडक सुधार गरेको छैन।
नेपाल टेलिकमले पनि केही सडकहरूमा टेलिफोनको तार बिछ्याउने काम गरिरहेको छ।
सडकसँग सम्बन्धित ९ निकाय गम्भीर नहुँदा नागरिकले सास्ती पाएको भन्दै मन्त्री ज्वालाले बैठकमा आक्रोश पोखेका थिए। ‘तपाईँहरू काममा गम्भीर नहुने, नागरिकले दैनिक सास्ती पाइराख्ने अवस्थामा टुलुटुलु हेरेर बस्दिनँ’ मन्त्री ज्वालाले भने ‘अब म आफैँ सडकमा जान्छु र कामको निरीक्षण गर्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।