काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको विश्वासको मतसम्बन्धी विवादको रिटको पेसी सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ भइरहेको छ। न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा रिटमाथि सुनुवाइ भइरहेको हो।
सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाले कोशी प्रदेशमा संवैधानिक ‘फ्रड’ भएको बताएका छन्। नेपालको संविधानको धारा १६८ (२)मा कुनै दलको स्पष्ट बहुमत नभएमा बहुमत प्राप्त गर्नेले सरकार बनाउने भनेकोमा यस्तो विवादजन्य बहुमतले नहुने तर्क उनले गरे। उनले थापाले लिएको विश्वासको मतमा जालझेलपूर्ण बहुमत देखाइएको बताए।
यसअघि सभामुखले विश्वासको मत दिएको विषय अदालतमा आएकोमा सभामुखलाई राजीनामा गराएर अहिले जेष्ठ सदस्यलाई सभामुख बनाएर बीचमा मत हाल्न लगाइएको बताउँदै तर्क उनको थियो। उनले भने, ‘यो त संवैधानिक फ्रड हो। सभामुखले नमिल्ने, अनि जेष्ठ सदस्यले कसरी हुन्छ? सभामुखले खुर्रर् कुदेर मत हाल्ने कस्तो अभ्यास हो? संविधान वकिलले मात्र हैन सासदले पनि पढ्न पर्यो। १६८ (२) अनुसार संख्यारहित ४७ हुनुपर्छ, सभामुख र बहुमत दुवै दाबी गर्न मिल्दैन। अध्यक्षता रहदा वहाँ दलको हुने हो?’
बहसका क्रममा न्यायाधीश सपना मल्लले उक्त विषयलाई संवैधानिक नैतिकतासग जोड्न मिल्छ कि मिल्दैन? भनेर प्रश्न गरेकी थिइन्। उक्त प्रश्नमा वरिष्ठ अधिवक्ता थापाले सभामुखले आफ्नै ठाउँबाट भोट हाल्ने कल्पना संविधानले नगरेको बताए। उनले भने, ‘अर्कोलाई राखेर हाल्न जाने अनि फेरि आएर बस्न मिल्दैन।’
बहसमा अर्का न्यायाधीश नहकुल सुवेदीले सभा सञ्चालन गर्दा परिवर्तन गर्ने कुरा कहीँ नियममा लेखिएको छ कि छैन? भनेर उक्त अभ्यासबारे सोधेका थिए। थापाले विगतमै सभामुखसहित नहुने भनेको र सभामुख र अध्यक्षतामा के फरक भयो भनेर प्रश्न गरेका थिए। उनले भने, ‘दुई पटक परीक्षण धारा १६८(२) मा भयो। अब तीन बाहेकको विकल्प भएन। शेरबहादुर देउवाको मुद्दामा हामीले स्पष्ट वहुमत लिएर आएका थियौँ। तर अहिले विवादास्पद मतदान भयो। अध्यक्षकै रुपमा मत दिनुपर्ने थियो। जनयुद्धको तरिकाबाट जानु भएन, सांसद नै राख्नुपर्यो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।