काठमाडौं- नेपाल–चीन पारवहन तथा व्यापार सम्झौताको ‘प्रोटोकल’लाई अन्तिम रुप दिन दुवै देशका अधिकारीको तेस्रो बैठक आजदेखि काठमाडौंमा सुरु हुँदै छ।
दुई दिनसम्म चल्ने बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैजुले गर्नेछन् भने नौ सदस्यीय चिनियाँ पक्षको नेतृत्व त्यहाँको यातायात मन्त्रालय अन्तर्गतको यातायात विभाग महानिर्देशक वाङ शिपिङले गर्नेछन्।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवर्द्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारी सहभागी हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
‘चिनियाँ पक्षसँगको छलफलबाट हामी प्रोटोकल सम्बन्धी सहमतिमा पुग्ने विश्वास लिएका छौँ,’ सहसचिव सैजुले भने।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला तयारी नपुग्दा प्राटोकलमा हस्ताक्षर हुन सकेको थिएन। प्रधानमन्त्री ओलीले असार ५ गतेदेखि चीनको ६ दिने औपचारिक भ्रमण गरेका थिए।
यसअघि प्रोटोकलसम्बन्धी छलफल भदौ १० र ११ गते हुने बताइएको भएपनि तयारी पूरा नहुँदा छलफल सारिएको थियो। यसअघि बेइजिङमा असार २६ र २७ मा भएको दोस्रो चरणको छलफलबाटै समहमति कायम गर्ने भनिएको भएपनि निचोडमा पुग्न सकेको थिएन।
प्रोटोकलमा हस्ताक्षर भएपछि नेपाले चिनियाँ बन्दरगाहको प्रयोग गर्दै तेस्रो मुलुकसँग व्यापार गर्न सक्नेछ भने भारतसँग नेपालको पारवहन निरर्भरता घट्ने अनुमान गरिएको छ। यस्तै नेपाल र चिनियाँ नागरिकले अर्को देशमा सहज रूपमा व्यापार गर्न पाउने वातावरण निर्माण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।