काठमाडौं- शनिबार काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा गरेको उत्तेजक टिप्पणीपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ।
मेयर शाहले सामाजिक सञ्जालमा ‘चोर सरकार’ भन्दै ‘सिंहदरबारमा आगो लगाइदिने’ धम्कीसहितको उत्तेजक सन्देश लेखेपछि बिदा (शनिबार)को दिन शाहको परिवारले ‘निजी कामका लागि सरकारी गाडी प्रयोग’ गरेको विषय सार्वजनिक भएको थियो।
‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार,’ शाहले सामाजिक सञ्जालमा लेखेका थिए। उक्त विषयमा पछि ड्युटीमा रहेका ट्राफिक प्रहरीले आफ्नी पत्नी सवार गाडी रोकेर चेकजाँच गरेपछि शाहले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति लेखेको विषय सार्वजनिक भएको थियो।
तर उक्त स्टाटस मेयर शाहले सोमबार फेसबुकबाट हटाएका छन्। फेसबुकमा लेखेको स्टाटस मेट्न वा लुकाउन सुविधा हुन्छ।
सोमबार एक विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासनले सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक विदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरूमार्फत् विगतदेखि नै हुँदै आएको बताएको छ। गृह मन्त्रालयले विभिन्न मितिमा यसको अनुगमन, नियमन र नियन्त्रणका लागि परिपत्र समेत गर्ने गरेको उल्लेख गर्दै प्रशासनले सरकारी स्रोत साधनको दुरुपयोग नियन्त्रणका लागि स्थानीय प्रशासन निरन्तर क्रियाशील रहेको र भविष्यमा समेत दृढतापूर्वक यो नीति कार्यान्वयन गरिने बताएको छ।
उक्त व्यवस्था अनुसार सुरक्षाकर्मी एवम् कर्मचारीहरु विद्यमान कानुन एवम् नीति निर्देशनको पालना गर्न अहोरात्र फिल्डमा खटिएर काम गर्दै आएको बताउँदै प्रशासनले राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुयाउन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्न अनुरोध गरेको छ।
लोकतन्त्र र विधिको शासनले कानुनको दृष्टिमा सबै समान छन् भन्ने स्थापित गरेकाले प्रचलित कानुनको बर्खिलाप गरिने जुनसुकै गतिविधि नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय प्रतिवद्ध रहेको पनि विज्ञप्तिमार्फत् जिल्ला प्रशासनले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।