काठमाडौं– नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको नेतृत्व चयनका लागि निर्वाचन नै हुने भएको छ। एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले आ–आफ्नो पक्षका नेतालाई नेतृत्वमा ल्याउने कसरत कायम राख्दा सर्वसम्मत हुन नसकेको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले भने सकेसम्म सर्वसम्मत नेतृत्व चयनमा जोड दिएका थिए। प्रदेश कमिटीहरुको पहिलो अधिवेशन लुम्बिनीमा हुन गइरहेकाले यसले अन्यका लागि सन्देश दिनुपर्ने ओलीको भनाइ थियो। बन्द सत्रमा ओलीले लुम्बिनी एमालेका लागि विशेष प्रदेश भएकाले विशेष सन्देश चाहेको उल्लेख गरेका थिए।
ओलीको संकेतअनुसार शनिबार र आइतबार बेलुकीसम्म सर्वसम्मतिको प्रयास गरिएको थियो। तर सम्भावना नदेखिएपछि निर्वाचन प्रक्रिया थालिएको हो।
लुम्बिनी प्रदेश कमिटीको अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजालले अध्यक्षमा उम्मेदवारी दिएका छन्।
दिउँसो १ बजेसम्मका लागि दाबी विरोधको समय तोकिएको छ। एमालेकै भावी नेतृत्वका रुपमा हेरिएका उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले आफ्नो गृह प्रदेशलाई प्रतिष्ठाका रुपमा लिएका छन्। त्यहीअनुसार उपाध्यक्ष पौडेलनिकट कँडेल र पोखरेलनिकट रिजाल मैदानमा आएका हुन्।
कँडेल यसअघि पनि प्रदेश अध्यक्ष थिए। उनले त्यसबाहेक कुनै जिम्मेवारी प्राप्त नगरेका कारण नेतृत्व पाउनेपर्ने एक पक्षको दाबी छ। संविधान सभा सदस्य रहिसकेका कँडेल पाल्पा जिल्ला कमिटी सदस्य हुँदै तीनपटक पार्टीको जिल्ला अध्यक्ष भइसकेका छन्।
प्युठानका रिजाल भने अहिले एमाले केन्द्रीय सदस्य छन्। उनी जिल्ला सचिव र अध्यक्ष भइसकेका छन् भने २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा विजयी भएका थिए। उनी २०७८ सालमा लुम्बिनी प्रदेश सरकारको ग्रामिण तथा शहरी विकास मन्त्री समेत भइसकेका छन्। उनी केन्द्रीय सदस्यबाट राजीनामा गरेर अध्यक्षका आकांक्षी बनेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।