काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख, वित्त आयोगको अध्यक्ष र अन्य पदाधिकारी सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै छ।
आज सिंहदरबारमा बस्ने बैठकले दुई निकायमा सिफारिस गर्ने स्रोतले बतायो। बैठक बिहान ११ बजे बस्नेछ।
अख्तियार लामो समयदेखि प्रमुख आयुक्तविहीन छ। दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ। हाल कार्यवाहकको जिम्मेवारी नवीनकुमार घिमिरेले सम्हाल्दै आएका छन्। बैठकले घिमिरेलाई नै प्रमुख आयुक्तमा नियुक्ति सिफारिस गर्ने सम्भावना रहेको स्रोतको दाबी छ। तर प्रमुख आयुक्तका लागि पूर्व मुख्यसचिव लीलामणि पौडेल लगायत अन्यको लबिङ रहेको थियो।
लोकमानसिंह कार्की अख्तियारको प्रमुख आयुक्त हुँदा धेरै विवादित भएपछि पार्टीहरुले स्वच्छ छविको व्यक्तिलाई अख्तियार प्रमुख बनाउन चाहेकाले घिमिरे बाहेक अन्यको नाममा समेत सरकारले छलफल गरिरहेको छ। प्रमुख आयुक्तका लागि वरिष्ठ अधिवक्ता युवराज संग्रौलाको पनि चर्चा रहेको थियो।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा पूर्वसचिव तथा स्थानीय निकाय तह पुनर्संरचना आयोगकाको संयोजक भई काम गरेका बालानन्द शर्माको नाम चर्चामा रहेको छ। पूर्व अर्थसचिव शान्तराज सुवेदीको नाम पनि छलफलमा रहेको स्रोतले बतायो।
आयोगका चार सदस्यका नाम पनि आजै सिफारिस गर्ने तयारी परिषद्ले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।