काठमाडौं– सोलुखुम्बुको लिखु पिके गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष रमेश कुमार बस्नेतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
वडा कार्यालयको भवन बनाउनका लागि नि:शुल्क रुपमा (दानमा) प्राप्त भएको जग्गा खरिद गरेको भनेर ६ लाख रुपैयाँ भुक्तानी लिइ रकम हिनामिना गरेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारले तत्कालीन वडाध्यक्ष बस्नेतसहित लिखु पिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जीवन सुवेदीविरुद्ध विशेष दालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार नि:शुल्क दानमार्फत् प्राप्त भएको जग्गा खरिद गरेको भन्दै वडाध्यक्ष बस्नेतले गाउँपालिकाबाट ६ लाख रुपैयाँ भुक्तानी मागेका थिए। वडा कार्यालय निर्माणका लागि नि:शुल्क रुपमा दानमा प्राप्त भएको जनाउने जग्गाको रजिस्ट्रेसन कागजात हुँदा वडाध्यक्षले मागेअनुसार प्रमुख प्रशासकीय अधिकृत भण्डारीले ६ लाखको भुक्तानी स्वीकृत गरेका थिए।
प्रमुख प्रशासकीय अधिकृत भण्डारीले स्वीकृत गरेपछि लेखापाल सुवेदीले ६ लाख रुपैयाँ भुक्तानी दिएका थिए।
अख्तियारले भुक्तानी माग्ने तथा लिने वडाध्यक्ष, स्वीकृत गर्ने प्रमुख प्रशासकीय अधिकृत र भुक्तानी दिने लेखापाल गरी तीनै जनाविरुद्ध ६ लाख रुपैयाँ बिगो कायम गर्दै विशेषमा मुद्दा दायर गरेको हो। अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५० को दफा ८ को उपदफा (१) बमोजिमको सजाय समेत मागदाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।