बुटवल- नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्व सर्वसम्मतिबाट चयन गर्ने प्रयास थालिएको छ। लुम्बिनीले देशभरलाई सन्देश दिनुपर्ने बताउँदै अध्यक्ष केपी शर्मा ओलीले आकांक्षीलाई त्यागका लागि तयार रहन निर्देशन दिएका छन्।
आइतबार बिहान बन्द शत्रमा आफ्ना कुरा राख्दै उनले एमालेका लागि लुम्बिनी नम्बर एक प्रदेश रहेकाले त्यही अनुसारको सन्देश दिन भनेका हुन्। सकेसम्म मतदानमा जाने नहुने कुरा घुमाउरो रुपमा राख्दैी उनले भने, ‘यो एमालेको लागि पहिलो प्राथमिकताको प्रदेश भएर अधिवेशनमा एक नम्बरमै पालो दिइएको हो। अन्तिम हुन नदिने जिम्मेवारी तपाईंहरुको हो, ख्याल गर्नुहोला।’
आइतबार बिहानै काठमाडौं फर्केका अध्यक्ष ओलीले सचिव पद्मा अर्याललाई प्रदेशको नेतृत्व मिलाएर चयन गर्ने अधिकार दिइएको समेत बताएका छन्। ओलीले थपे, ‘पार्टी एक ढिक्का बनाउन पद त्याग गर्दा राम्रै हुन्छ। सहमतिमा जानुहोस्, सहमतिमा नगए मतदानको अधिकार त छँदैछ।’
लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको स्पष्ट गुट देखिएको छ। अधिवेशन उद्घाटनका क्रममा दुवैजनाले राखेका अभिव्यक्तिले पनि उनीहरु आफ्नो पकडका लागि सक्रिय रहेको संकेत गर्थ्यो।
पौडेलका तर्फबाट पाल्पाका राधाकृष्ण कँडेलले अध्यक्षको दाबी गरिरहेका छन्। पोखरेल निकट मानिएका प्यूठानका हरि रिजाल केन्द्रीय सदस्य त्यागेर प्रदेश अध्यक्षको आकांक्षी बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।