काठमाडौं– नेपालको संसद्बाट पारित भएको नेपालको चुच्चे नक्साबारे परराष्ट्र मन्त्रालयले अन्य देशलाई जानकारी दिएको/नदिएकोबारे परराष्ट्रमन्त्रीलाई नै जानकारी नभएको पाइएको छ।
आइतबार बिहान ओखलढुंगामा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदले पारित भएको नक्सा मन्त्रालयले सम्बन्धित देशमा पठाएको/नपठाएकोबारे आफूलाई जानकारी नभएको बताएका हुन्।
उनले मन्त्रालयका शाखाहरुबाट पनि काम गर्ने क्रममा ढंग नपुगेको स्वीकार गरेका छन्। ‘काम गर्ने क्रममा कतै ढंग नपुगेको हो कि। संसद्बाट पारित भएको नक्सा सम्बन्धित देशमा पठाइएको छ कि छैन भनेर बुझ्दा। नक्सा पठाइएकोबारे मैले ठोस जानकारी पाएको छैन।’
उनले नेपालको संसद्बाट पारित भएको नक्सा र निर्णयलाई छिमेकी मुलुकहरुले सम्मान गर्नुपर्ने बताएका छन्। कुनै समस्या भए कुटनितिक तवरबाट हल गर्नुपर्ने बताउँदै मन्त्री साउदले नक्सालाई लिएर धेरै विवाद गर्नुभन्दा वार्ताबाट हल खोज्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।