दाङ– घोराही उप–महानगरपालिकाले खसी तथा रांगा बधस्थल र मासु बजारको अनुगमन गरेको छ।
नगरका उपप्रमुख सीता सिग्देल न्यौपानेको नेतृत्वमा घोराहीमा रहेका बधशाला तथा मासु पसलको अनुगमन गरिएको हो।
अनुगमनका क्रममा रांगाको बधशाला वातावरणमैत्री नभएको पाइएपछि तत्काल सुधार्न टोलीले निर्देशन दिएको छ।
त्यसैगरी रांगाको मासु बजारमा व्यवसायीले विगतमा उप–महानगरपालिकासँग गरेका सहमतिहरू कार्यान्वयन नगरेको भन्दै एक साताभित्र मासु बजारलाई व्यवस्थित र सुधार गर्न निर्देशन दिएको हो।
मासुहरू बाहिरै झुण्ड्याएर राखिएको, खिया लागेका अंकुशमा राखिएको, फ्रिजमा नराखिएको र मूल्यसूची नराखेको पाइएपछि तत्काल सहमतिअनुसार सुधार गर्न निर्देशन दिएको उपमहानगरका प्रवक्ता भरत अर्यालले जानकारी दिए।
‘पटक पटकको अनुगमनमको क्रममा दिएको सुझाव कार्यान्वयन भएको पाइएन’, उनले भने ‘संचार माध्यममा आएका विभिन्न खाले कुराहरुलाई ध्यानमा राखेर पुनःअनुगमन गरिएको हो।’
उनीहरूलाई एक साताको म्याद दिएको र सुधार नगरे कारबाही गरिने अर्यालले बताए।
साथै कतिपय मासु पसलदर्ता बिना नै सञ्चालन गरेको पाइएकाले दर्ता प्रकृया पुरा गर्न पनि निर्देशन दिएको र अर्को पटक अनुगमनका क्रममा अटेरी गरेको पाइए कानुनअनुसार कारबाही गर्ने अनुगमन टोलीले चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।