भैरहवा– उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सेवा चुस्त दुरुस्त राख्न मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
शनिबार भैरहवास्थित एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) को अनुगमन तथा निरीक्षण गर्ने क्रममा मन्त्री रिजालले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन्।
अनुगमन तथा निरीक्षणमा मन्त्री रिजाल सँगै उद्योग सचिव मुकुन्द निरौलाको पनि उपस्थिति रहेको थियो भने एकीकृत भन्सार जाँच केन्द्र (आईसीपी) का कार्यकारी निर्देशक आशिष गजुरेलले मन्त्री रिजाललाई आईसीपीको स्थलगत जानकारी गराएका थिए।
मन्त्री रिजालले आवश्यक सुधार तथा व्यवस्थापनमा जोड दिन आग्रह गर्दै नीतिगत समस्या समाधान गर्न केही समय लाग्ने भए पनि अन्य समस्या भए त्यसको समाधानका लागि तत्काल निर्णय गर्न आफू तयार रहेको बताए।
त्यसैगरी देशलाई समृद्धितर्फ लैजाने गरी उपलब्धिमूलक काम गर्न हौसला दिँदै मन्त्री रिजालले पारदर्शी भएर काम गर्न समेत आग्रह गरे। मन्त्री रिजालले शनिबार नै भैरहवा स्थित विशेष आर्थिक क्षेत्र (सेज) को पनि अनुगमन गरेका छन्।
अनुगमनका क्रममा विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा चण्डिका भट्टले मन्त्री रिजाललाई सेजको स्थलगत जानकारी गराएका थिए भने सेजको विस्तृत प्रस्तुतिसमेत प्रस्तुत गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।