काठमाडौं– नेकपा माओवादी केन्द्रका उप महासचिव गिरिराजमणी पोखरेलले माओवादी नेतृत्वको सरकारले गरेका राम्रा काम प्रचार गर्न कार्यकर्तालाई आग्रह गरेका छन्।
नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरणका लागि ३ महिने विशेष रूपान्तरण अभियान सुरु गर्दै उनले जनताको मनमा वस्ने माओवादी बनाउन जनताको घर दैलामा जान नेताहरुलाई निर्देशन दिएका छन्।
उनले काठमाडौंको गोकर्णेश्वर नगरपालिको उत्तरवाहिनीमा विरुवा रोप्दै अभियानको सुरुवात गरे। गोकर्णेश्वरको ४,५ र ६ मा उनले अभियानको शुभराम्भ गर्दै माओवादी नेतृत्तवको सरकारले गरेका कामबारे प्रचार गर्न कार्यकर्तालाई निर्देशन दिए।
उनले माओवादी नेतृत्वमा रहेको सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा उल्लेख्य काम गरेको भन्द सबै जनतालाई बुझाउन कार्यकर्तालाई आग्रह पनि गरे।
शनिबार प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चन्द्रागिरी–२ बाट औपचारिक रूपमा ‘जनतासँग माओवादी रूपान्तरण अभियान’को सुरुवात गरेका छन्।
यो अभियानको ७ प्रदेशका ७५३ वटै पालिकाका ६ हजार ७४३ वटा वडाहरूमा एकै पटक सुरुवात गरिएको हो। माओवादी केन्द्रको कमजोर बन्दै गएको धरातललाई सुधार गर्न अभियान सञ्चालन गरिएको हो।
उक्त अभियान अन्तर्गत माओवादी केन्द्रले आफ्ना सबै नेताहरूलाई गाउँ–गाउँमा खटाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।